इटहरी । सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको पाँचौं दिन पनि भक्तजनहरूको उपस्थिती उल्लासमय देखिएको छ। केन्द्रद्वारा आयोजित श्रीमद्भागवतमा हालसम्म २१ हजारभन्दा बढी भक्तजनहरूले उपस्थिती जनाउँदै १०८ शिवलिङ्गको दर्शन गरेका छन्।
भागवतको पाँचौं दिन उपस्थित हजारौं भक्तजनहरूलाई कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा तयार पारिएको प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार सामग्री वितरण गरिएको थियो।कोशी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उक्त सामग्री तयार पारेको थियो। पाँचौं दिन १०८ शिवलिङ्ग दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कोशी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोललाई धार्मिक–पर्यटकीय स्थलका रूपमा परिचित बनाउन त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले १०८ शिवलिङ्ग स्थापना साथै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको आयोजना गरिरहेको छ।

कार्यक्रमको सुरुवात कात्तिक १४ गते भव्य कलश शोभायात्रासहित सम्पन्न गरिएको थियो भने कात्तिक १७ देखि १९ गतेसम्म १०८ शिवलिङ्ग विशेष प्राण प्रतिष्ठा अनुष्ठान सञ्चालन भइरहेको आयोजकले जनाएकाे छ ।
सोही अवसरमा नेपालका काठमाडौं, पोखरा, धरान, बराहक्षेत्र, नवलपरासीलगायतका ठाउँहरूका साथै भारतका दिल्ली, सिक्किम, बिहार, सिलिगुडीबाट समेत धार्मिक तथा सामाजिक प्रतिनिधिहरूको सहभागिता रहेको छ।
स्थापित शिवलिङ्ग र संरचनाहरू नेपाली पहिचान झल्किने गरी तयार पारिएको बताउँदै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र १०८ शिवलिङ्ग स्थापना तथा प्राण प्रतिष्ठा समिति संयोजक बाबुराम सुवेदीले जानकारी दिए।
इटहरीको सुकल्प सामुदायिक भवन, श्री विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा सङ्घलगायत संस्थाहरूको नजिक रहेको यो स्थललाई “नमुना धार्मिक–पर्यटकीय गन्तव्य” का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रम आयोजकहरूले इटहरीवासी, धार्मिक संघ–संस्था र सञ्चारकर्मीहरूलाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै “१०८ शिवलिङ्ग प्रतिष्ठा कार्यक्रमले कोशी प्रदेशको धार्मिक पर्यटन विकासमा नयाँ पहिचान दिलाउनेछ” भन्ने विश्वास व्यक्त गरेका छन्।




















