✍️ इटहरी — सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको संवेदनशील कथा बोकेको नेपाली फिल्म ‘सोल्टिनी’ प्रदर्शनको तयारीसँगै देशव्यापी प्रचार यात्रामा निस्किएको छ। तिहारको देउसी–भैलोको अवसर पारेर फिल्म टिम देशका प्रमुख सहरहरूमा प्रचार–प्रसारमा जुटिरहेको छ।
कोशी प्रदेशको प्रचार यात्राअन्तर्गत फिल्मका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बू सहितको टोलीले कार्तिक ३ गते (लक्ष्मीपूजाका दिन) सुनसरीको इटहरीस्थित फुडशाला क्याफेमा आयोजित पत्रकार भेटघाटमा सहभागी हुँदै फिल्मबारे जानकारी गराएको हो।
भेटघाटमा अभिनेता सपुतले ‘सोल्टिनी’ लाई “पूर्वेली समाजको सांस्कृतिक र जातीय विविधता तथा समाजका विभिन्न रंगहरू समेटिएको मौलिक र अर्गानिक फिल्म” को रूपमा व्याख्या गरे।
उनले भने, “यो फिल्मको कथा हाम्रो आफ्नै समाजको हो, जसमा म मुख्य पात्र भएर अभिनय गर्न पाउनु मेरो लागि सौभाग्य हो।”
त्यस्तै, नायिका परीक्षा लिम्बूले फिल्मको कथावस्तु अत्यन्तै गहिरो र जीवन्त रहेको बताउँदै दर्शकले यसलाई मन पराउने विश्वास व्यक्त गरिन्। “स्क्रिप्ट पढ्ने बित्तिकै धेरै कुरा समेटिएको महसुस भयो, त्यसैले यसमा जोडिनुपर्छ भन्ने लाग्यो,” उनले भनिन्।
कार्यक्रममा अभिनेता तथा प्रोजेक्ट हेड सुजन खतिवडा, बालकलाकार शुभम् अधिकारी र हार्दिक पौडेल पनि सहभागी थिए।
प्रचार अभियानअन्तर्गत टोलीले कार्तिक २ गते झापाको दमकमा देउसी–भैलो र सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो। त्यसपछि इटहरीमा पत्रकार भेटघाट र धरानमा सांगीतिक कार्यक्रम गर्दै टोली हाल पोखरा पुगेको छ।
फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। कथा लेखनमा सुवेदी स्वयं र कुमार भट्टराईको सहकार्य रहेको छ।
फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, सुन्दर धिताल, साबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय रहेको छ।
रेजिना विष्ट र संसार चौलागाईं फिल्मका निर्माताहरू हुन् भने रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी सह–निर्माताका रूपमा छन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको ‘सोल्टिनी’ ले सामाजिक विभेद र अन्तरजातीय प्रेममा देखिने संघर्षलाई पर्दामा सशक्त रूपमा चित्रण गर्ने अपेक्षा गरिएको छ।




















