इटहरी । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्यामा संलग्न आरोपीले प्रहरीसँग २५ वर्षअघिको बदला लिएको बताएका छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई हाल धुम्बाराही बस्ने ६२ वर्षका होमप्रसाद पौडेलले २०५७ सालमा प्रहरीले आफूलाई माओवादी भन्दै आँखा फुटाइदिएको बदला लिएको बताएका हुन् ।
पौडेल महाराजगञ्जका महाराजगञ्ज बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या आरोपी हुन् । उनले बयानका क्रममा हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । भदौ २४ गते काठमाडौंको महाराजगञ्ज बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको हत्या भएको थियो।
उक्त हत्याको आरोपमा पक्राउ परेका चार जना कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
रायको हत्या आरोपमा होमप्रसाद पौडेलसहित उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडिया घर भई ललितपुरको बालकुमारी बस्ने २८ वर्षका टिकाराम बिक पक्राउ परेका थिए। उनीहरूले असई रायको हत्या गरेको भिडिओ, फोटोको आधारमा प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा पनि उनीहरूले प्रहरी हत्यामा संलग्न भएको स्वीकार गरेका थिए।
यसअघि प्रहरी जवान उत्तमसिंह थापाका हत्या आरोपमा दुईजनालाई शुक्रबार थुनामा पठाउन आदेश भएको थियो। जवान थापाको हत्या आरोपमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ राजवास घर भई हाल बालुवाटारमा डेरा बस्ने २८ वर्षका युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २१ वर्षका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए। बिहीबार अदालतमा मुद्दा दर्ता भएको थियो। शुक्रबार उनीहरूलाई थुनामा पठाउन आदेश भएको हो।




















