काठमाडौं । जनकपुरमा सुन पसलमा प्रहरीले छापा मारेपछि प्रहरी र व्यापारीबीच झडप भएको छ ।जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मारेको थियो । त्यसक्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रहार गरेको छ ।झडपमा १० जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।यस्तै, प्रदर्शनकारीतर्फ जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायत घाइते भएका छन् ।
जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा बिल विजक नभएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले सो पसलबाट सात किलो चाँदी बरामद गरेको छ । धनतेरसको पूर्वसन्ध्यामा व्यवसायीलाई आतंकित बनाएको भन्दै विरोधमा उत्रेका व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेपछि तनाव भएको हो ।




















