इटहरी । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका सम्पत्ति छानबिन गर्न सुरु गरेको छ ।विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो  ।

उनीहरूमाथि राज्यशक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।छानबिनको दायरमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरूका आफन्तलाई समेत राखिएको विभागले जनाएको छ ।२४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाल लगायतका नेताका घरमा आगजनी गरेका थिए । बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए ।

विभागले प्रहरीसँग पनि २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा तत्कालीन मन्त्री खड्काका घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक परीक्षणको रिपोर्ट मागेको छ ।यस्तै, उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबार, घरजग्गामा गरेको लगानीलगायतका विषयमा विभिन्न निकायलाई पत्र लेखि विवरण संकलन भइरहेको विभागका एक अधिकारीले बताए ।

पूर्वप्रधानमन्त्री देउवा २०४८ देखि निरन्तर सार्वजनिक लाभको पदमा छन् । २०४८ पछिका सबै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए । उनी २०४८ मै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक उनी प्रधानमन्त्री भए ।

पूर्वप्रधानमन्त्री ओली पनि सधैं सत्ता र शक्तिको केन्द्रमा रहेका नेता हुन् । २०५१ मा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका ओली २०६२/६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । उनी २०७२, २०७४, २०७७ र २०८१ गरी चार पटक प्रधानमन्त्री भए ।

ओलीमाथि विवादित व्यापारीलाई पोसेको, सरकारीरसार्वजनिक सम्पत्ति कौडीको भाउमा सुम्पिएको आरोप लाग्दै आएको छ । पञ्चायतकालमै उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा दिइएको झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा हिनामिना गर्ने प्रपञ्चलाई साथ दिँदै कानुन संशोधन गरेको, मन्त्रिपरिषद्बाट निर्णय गराएको आरोप उनीमाथि छ ।

अर्का पूर्वप्रधानमन्त्री एवं माओवादी संयोजक दाहाल २०६२/६३ को परिवर्तनपछि संसदीय राजनीतिमा सक्रिय भएका हुन् । त्यसयता उनी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुका लागि सरकारले दिएको भरणपोषण खर्च हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ । दाहाल विवादास्पद व्यवसायी शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका थिए, जुन घर २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

देउवा पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद भइन् । जेन–जी विद्रोहअघिसम्म ओली नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिइन् । प्रदर्शनकारीले २४ भदौमा निवासमै देउवा दम्पतीमाथि हातपात पनि गरेका थिए ।

कांग्रेस नेता खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए । जलस्रोत उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । तर उनीमाथि अनुसन्धान हुन सकेको थिएन । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए ।

सार्वजनिक खरिद, विभिन्न नियुक्ति, सरुवारबढुवा, राष्ट्रिय सम्पत्ति हिनामिनालगायत अनेक प्रकरणमा पटकपटक विवादित भए पनि उनीहरूमाथि कहिल्यै अनुसन्धान भएको थिएन ।