इटहरी । नेकपा (एमाले) केन्द्रीय सदस्य अरबिन्द सिंहले तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अकर्मण्यताको ढाकछोप गर्न विदेशी षड्यन्त्र भनेर टिप्पणी गरिएको भन्दै आलोचना गरेका छन् । पार्टी सत्ता र राज्य सत्ता एमालेको हातमै भएका बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा एमालेले आजीवन उन्मुक्ति नपाउने उनको भनाई छ ।
एमाले केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्दै सिहंले भदौ २३ को नरसंहारको प्रतिक्रिया २४ को विध्वंस भएको बताए । ‘२४ गतेको विध्वंश २३ गतेको नरसंहारको प्रतिक्रिया हो। जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमूर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ,’ उनले भने।
सिंहले भने दुई–दुई पटक संसद विघटन गर्ने एमालेले पुनःस्थापनाको माग उठाउँदा घृणा र हाँसोको पात्र हुने बताए । सिंहले चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना रहेको बताएका हुन्।
‘दुई–दुई पटक हामी आफैले संसद विघटन गरेकाले संसद पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताकाबीच घृणा र हाँसोको पात्र मात्रै हुन्छौं। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन,’ उनले बैठकमा भने।
दोस्रो विधान महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’ विश्लेषण २४ घन्टा नपुग्दै फेल भएको सिंहले बताए। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जानेरु भन्दै प्रश्न पनि गरे।
‘भदौ २२ गतेको जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घन्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जाने होलारु हाम्रा विश्लेषणहरू वस्तुपरक हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ,’ सिंहले भने।
अरबिन्द सिंहले बैठकमा राखेका सुझाव र प्रश्नको पूर्ण पाठ-
१.भदौ २२ गतेको "जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको" राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला? हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ।
२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौँ।
३. २४ गतेको विध्वंस, २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।
४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने?
५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।
६. युवा विद्यार्थी र आम जनता स्वत:स्फूर्तरूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ? यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ।
७. जनसंगठनहरू कसरी चल्दैछन् भन्ने एउटा उदाहरण- टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी?
८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जनाबाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।
९. दुईदुईपटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।
१०.विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।
अरबिन्द सिंह, केन्द्रीय सदस्य, वीरगन्ज




















