इटहरी डेस्क । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन भन्ने विषयले विवाद चर्किएको छ ।बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतर पक्षबीच महाधिवेशनको विषयमा विवाद बढेको हो ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्रै विशेष महाधिवेशन हुनुपर्ने अडानमा छन् भने संस्थापनपक्षीय नेताहरू विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन् ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका सभापति शेरबहादुर देउवाले आफू अबको महाधिवेशनमा सभापति नबन्ने घोषणा गरिसकेका छन् । देउवाको यो घोषणासँगै कांग्रेसको नेतृत्व लिन नेताहरूबीच महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा विवाद चर्किएको हो ।
२१ फागुनमा निर्वाचन हुने घोषणा भइसकेको अवस्थामा मंसिरभित्रै नियमित महाधिवेशन हुन नसक्ने तर्क संस्थापन पक्षको छ । वैशाखभन्दा अगाडि नै नियमित महाधिवेशनसमेत सम्भव नभएको तर्क उनीहरूले राखेका छन् ।
नियमित नभएमा विशेष महाधिवेशन गराउन भनेर हस्ताक्षर अभियान थालिएकाप्रति मौन रहेका नेता शेखर कोइरालाले बिहीबारको बैठकमा भने महामन्त्रीहरूको यो अभियानलाई साथ दिएका छन् । त्यसका बाबजुद कोइरालाले देशभर पार्टीलाई नयाँ जीवन दिन र ताजगीपन ल्याउन मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने पूर्ववत् अडानै राखे ।
‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ,’ कोइरालाले भने, ‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्न हो भन्ने म बुझ्छु ।’
महामन्त्री थापाले बैठकमा छलफलका लागि १० वटा एजेन्डा राख्दै गर्दा मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने प्राथमिकता अघि सारेका छन् । केन्द्रीय कार्यसमितिले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका दिन नसकेमा मात्रै विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने भनाइ महामन्त्रीद्वय थापा र शर्माले पटक–पटक सार्वजनिक गर्दै आएका छन् ।
विशेष महाधिवेशनको माग राखेर बुधबार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको छ । सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिने सन्दर्भमा पनि महाधिवेशन समयमै गर्न कार्यादेश दिएको महामन्त्री थापाको भनाई छ ।तर, संस्थापन पक्षीय नेताहरू भने पार्टीलाई संकट परेको बेला हस्ताक्षर गरेको भन्दै आक्रोश पोखेका छन् ।




















