इटहरी ।  नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।तीन दिनसम्म चल्ने बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए। एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताए।एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ।

ओलीको बहिर्गमन र भण्डारीको सदस्यताबारे के होला ?

जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टी भित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ। भक्तपुरको गुण्डुमा असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा अधिकांश उपाध्यक्ष र सचिवहरूले अध्यक्ष ओलीले पदत्याग गर्नुपर्ने धारणा राखेका थिए । तर, ओली आफ्नै नेतृत्वमा महाधिवेशनमा जाने योजना मा छन् ।

यस्तै, सचिवालय बैठकमा पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने नेताहरूको धारणा थियो ।सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल लगायतका धेरै नेताहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुन चाहेको हो भने पार्टीको सदस्ता रोक्न नहुने मत राखेका थिए।

तर, अध्यक्ष ओलीले त्यसबारे प्रष्ट धरणा राखेका छैनन्।गत साउनमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको थियो ।