इटहरी । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेलाई सरकार बाहिर राखेर बाँकी पाँच दलबीच सरकार गठन गर्ने सहमति भएको माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए।
लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यस्तो सहमती जुटेको हो ।प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ।५६ सांसद्को बहुमत जुटाएर प्रदेश प्रमुखसँग दाबी पेस गर्न जान लागेको कुशवाहले बताए ।
मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि राजीनामा दिएका थिए ।जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशनविपरित राजीनामा दिन अस्वीकार गरेका सिंहले प्रदेश सभाबाट विश्वासको मत लिने अडान लिएका थिए ।
यसअघि कांग्रेस, एमाले र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका थिए ।
यस्तै, एमाले र जनमतको समर्थनमा कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको थियो ।प्रदेश प्रमुखको कार्यालयमा असोज २२ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलका सांसदको हस्ताक्षरसहित दाबी पेश भएको थियो ।




















