इटहरी डेस्क । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।बुधबार बिहान संसद् भवनस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे र दलहरूबीच छलफल सुरु भएको हो ।बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतक सहभागी छन् ।
सभामुख घिमिरेले आफैँ रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन्।प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट निवेदन परेको छ । प्रमुख दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् ।गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन्।




















