इटहरी डेस्क । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउने घोषणा गरेका छन् ।सोमबार आफ्ना समर्थकसहित पशुपति मन्दिरबाट प्रसाईंले नेपाल पुनः हिन्दु अधिराज्य बनेको घोषणा गरेका हुन् ।त्यसक्रममा उनले आफ्ना समर्थकलाई ‘आजको दिनदेखि नेपाललाई पुनः किरात, बौद्धसहित हिन्दु अधिराज्य नेपालको रुपमा स्थापित भएको घोषणा गर्दछौँ’ भन्ने सपथ समेत खुवाएका थिए ।
राजतन्त्र फर्काउने र हिन्दु अधिराज्य कायम गर्ने अभियानमा लागेका प्रसाईं गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि पक्राउसमेत परेका थिए । उक्त प्रदर्शनमा २ जनाको ज्यान गएको थियो भने केही घरहरूमा आगजनीसमेत भएको थियो ।प्रसाईंले अहिले देशभित्रको खतरा बाहिरबाट होइन, देश भित्रकै नेपाली अनुहारहरू जो आफूलाई पढेलेखेको बुद्धिजीवि र सोसियल मिडियाको ज्ञाता भन्ने नक्कली फेसबुक चलाउनेहरूबाट भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘ती विदेशी एजेन्डा बोकेका कठपुतली हुन् । भाषा र शरीर नेपाली, आत्मा र दिमाग विदेशी । उनीहरूलाई राष्ट्रियता भनेको चुनावी नारा, देशप्रेम भनेको स्टाटस अपडेट मात्रै हो ।’उनले देश र धर्म जोगाउने शान्तिपूर्ण विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।




















