इटहरी डेस्क । मधेश प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) विश्वासको मत लिँदैछन् ।पार्टीको निर्देशनविपरित राजीनामा दिन अस्वीकार गरेका सिंहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।सिंहले विश्वासको मत पाउने सम्भावना नरहेपनि आफ्ना कुरा संसदमा राख्न विश्वासको मत लिन लागेको स्पष्ट पारेका छन् ।
यसअघि, नेपाली कांग्रेस, नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमाले र जनमतको समर्थनमा कांग्रेसले सरकारमा दाबी पेस पनि गरिसकेको छ ।यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको छ। कांग्रेसले एमाले र जनमतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा असाज २२ गते नै दर्ता गराइसकेको छ ।
मधेश प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलका सांसदको हस्ताक्षरसहित दाबी पेश भएको हो ।यसअघि मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।सिंह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप लगाउदै एमालेले लगाएको छ।
मधेशमा एमालेका सभामुखसहित २५ जना प्रदेश सांसद छन् ।मुख्यमन्त्री सिंहलाई लोसपाले दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।जनमत पार्टीका अध्यक्ष सिके राउतले राजीनामा दिन भनेपनि मुख्यमन्त्री सिंहले अस्वीकार गरेका हुन् ।




















