इटहरी डेस्क । शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा सरकार र जेनजी अगुवाबीच भएको छलफल तनावपूर्ण बनेको खुलासा भएको छ ।जेनजी अगुवाहरूले सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टी जनाएको र प्रधानमन्त्री सुशीला कार्की जेनजीहरूसँग नै रिसाएको छलफलमा सहभागी एक प्रतिनिधिले जनाएका छन् ।
छलफलका क्रममा केही जेनजी अगुवाले ‘आईएनजीओबाट सञ्चालित सरकार’ भनेर प्रधानमन्त्रीको राजीनामा मागेपछि उनी रिसाएकी हुन् ।छलफलमा जेनजी प्रतिनिधिहरूले जेन–जी आन्दोलनमा दमन गरेका तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही, भ्रष्टाचार नियन्त्रणका लागि संरचनागत सुधार तथा घाइते र मृतकको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका थिए ।
उनीहरूले भ्रष्टाचारको फाइल खोल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।यस्तै, जेनजीको प्रतिनिधि भनेर मन्त्री बन्ने चर्चा चलेका व्यक्तिहरूाबारे पनि बैठकमा कुरा उठेको थियो ।जेन–जी रिभोलुसन नेपालका उपाध्यक्ष अर्जुन शाहीले चार जनालाई मन्त्री सिफारिस गरिएको चर्चा चलेको उल्लेख गर्दै ‘सामाजिक सञ्जालमार्फत उनीहरूको नाम कसले अघि सारेको हो ?’ भनी प्रश्न गरे ।
सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ, अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हान्जोमलाई मन्त्री बनाउने चर्चा शुक्रबार बेलुकी सुरु भएपछि जेन–जीबीच हल्लीखल्ली छ ।छलफलका क्रममा ‘एनजीओले बनाएको सरकार’ भनी टिप्पणी गरिएपछि पनि प्रधानमन्त्री कार्कीले प्रतिवाद गरेको एक प्रतिनिधिले बताए । ‘यो जादुको छडी होइन, जुन अहिलेको अहिल्यै ठीक होस्, सुधार गर्ने प्रक्रियामा छौं,’ कार्कीको भनाई उदृत गर्दै उनले भने, ‘नतिजा दिने गरी काम गरिरहेका छौं, तपाईंहरू हतार नगर्नुस् ।’
उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पनि सबैसँग आग्रह गरिन् ।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समेत जेन–जीलाई सम्झाएका थिए । यो सरकार जेन–जीकै सरकार भएको उल्लेख गर्दै उनले सकभर सबैलाई एक ठाउँ उभिन आग्रह गरे ।सुरक्षा निकायका प्रमुखहरूले चुनावका लागि दलहरूको समेत सहयोग चाहिने भन्दै संयमता अपनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
जेन–जीको प्रत्येक समूह समेट्ने गरी राष्ट्रपति कार्यालयले शनिबार छलफलमा बोलाएको थियो । छलफलमा सहभागी हुन नपाएका प्रतिनिधिले शीतलनिवास गेटमा नाराबाजी गरेका थिए ।यसअघि राष्ट्रपति पौडेलले शुक्रबार राजनीतिक दलहरूलाई बोलाएर फागुन २१ गते हुने निर्वाचन सफल पार्न आग्रह गरेका थिए ।उक्त छलफलमा राष्ट्रपति पौडेल भने सहभागी हुन सकेनन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भए । राष्ट्रपति पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररथ छन्।
अस्पताल स्रोतका अनुसार, उनलाई पोजसनल भर्टिगो भएको छ। यो रोग लागेका मान्छेहरू अचानक टाउकोभित्र केही घुमिरहेको जस्तो महसुस गर्छन् । उनको स्वास्थ्य परिक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्न मणि गजुरेलले जानकारी दिए।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ,’ सेन्टरले विज्ञप्ति जारी गरेर भनेको छ, ‘हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदछौँ।




















