इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।पूर्वमन्त्रीसमेत रहेका भट्टराईले राहदानी विभागमै पुगेर फिर्ता गरेको बताएका छन् ।

संसद् सचिवालयका अनुसार निवर्तमान सांसदहरू प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि रातो पासपोर्ट फिर्ता गरिसकेका छन् ।

गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ मा पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते चुनावको मिति तोकेका छन् ।