इटहरी । थारु समुदायको समृद्ध संस्कृति, परम्परा र मौलिक परिकारहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा ’फुड फेस्टिवल २०८२’ सुरु गरिएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको न्यु बसधारा चौधरी होटलको आयोजनामा यही असोज २० गते सम्म सञ्चालन हुने गरि फुड फेस्टीवल सुरु भएको हो ।
दशैंको चाडपर्वको अवसर पारेर आयोजना गरिएको यस फेस्टिवलमा विशेष गरी थारु समुदायका परम्परागत खाना, पहिरन, संस्कार र सांस्कृतिक झलक प्रस्तुत गरिएका छन्। आयोजकका अनुसार फेस्टिवलमा थारु जातिको मौलिक परिकारहरू जस्तै सिद्रा, घुँघी, अनादी, भजिया, ढिक्री, मासुका परिकारहरू लगायतका थुप्रै थारु परिकारहरू स्वाद चाख्न पाइनेछ ।
न्यु बसधारा चौधरी होटलका सञ्चालक हरिनारायण चौधरीका अनुसार फेस्टिवलले थारु संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न मात्र नभई नयाँ पुस्तामा यसको चेतना फैलाउने उद्देश्य राखेको छ । हामीले थारु परिकारलाई प्राथमिकता दिएका छौं, तर त्यससँगै अन्य स्थानीय तथा नेपाली परिकारहरूको पनि स्वाद पाइनेछ,” उनले जानकारी दिए ।
फेस्टिवलमा विभिन्न स्टलहरू मार्फत खाना प्रदर्शनी तथा विक्रीको व्यवस्था गरिएको छ । साथै, सांस्कृतिक कार्यक्रमहरू, थारु लोक नृत्य तथा संगीत पनि फेस्टिवलको आकर्षणको हिस्सा रहेका छन् । स्थानीय उत्पादक र महिला समूहहरूले उत्पादन गरेका घरेलु सामग्रीहरू पनि स्टलहरूमा राखिएका छन्, जसले स्थानीय आर्थिक सशक्तीकरणमा पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
स्थानीय तह, विभिन्न संघसंस्था र संस्कृतिप्रेमीहरूको सहभागिता रहेको फेस्टिवलमा इटहरी र आसपास क्षेत्रका सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको हो । फेस्टिवल आयोजकले यो कार्यक्रमलाई वार्षिक रूपमा सञ्चालन गर्दै लैजाने योजना बनाएको बताइएको छ ।
यस्तै, थारु परिकारलाई विशेष प्राथमिकतामा राखेर सञ्चालन गरिएको फुड फेस्टीवलमा अन्य परिकारहरु समेत रहने समेत जनाइयो । यस किसिमको फेस्टिवलले थारु समुदायका मौलिकतालाइ उजागर गर्दै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।




















