इटहरी डेस्क । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने तीनजना एकै परिवारका हुन् ।सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको स्थानीयले जनाएका छन् ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले फाल हानेर जोगाएका छन्।ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन्।घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।




















