सुनसरी । सुनसरी जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा शुक्रबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ । “विदाई तथा फेरी भेटौंला कार्यक्रम” शीर्षकमा गरिएको उक्त कार्यक्रममा हालैको सरुवा निर्णयअनुसार अन्यत्र पदस्थापित भएका माननीय जिल्ला न्यायाधीशज्यूहरूको विदाई गरिएको हो ।
कार्यक्रममा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश मुकेश कुमार उपाध्याय, जिल्ला न्यायाधीश उषा श्रेष्ठ, जिल्ला न्यायाधीश नागेन्द्र कुमार कालाखेती तथा जिल्ला न्यायाधीश शम्भु गौतमलाई औपचारिक रूपमा सम्मानसहित विदाई गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूले आफ्नो सम्बोधनमा न्याय क्षेत्रको मर्यादा, पेशागत आचारसंहिता र न्यायमा पहुँच विस्तारका सवालमा विदाइ हुने न्यायाधीशज्यूहरूले देखाएको नेतृत्व र योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “न्यायालय मात्र होइन, बार र बेंचबीचको सुमधुर सम्बन्धमा पनि तपाईँहरूको योगदान अमूल्य छ । तपाईँहरूको अनुभव र कार्यशैलीले न्यायिक सेवामा एउटा सकारात्मक उदाहरण स्थापित गरेको छ ।”त्यसैगरी, सुनसरी जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीहरूले विदाइ हुने न्यायाधीशहरूप्रति कृतज्ञता व्यक्त गर्दै, जिल्लामा न्याय प्रशासनको गुणस्तर उकास्न उहाँहरूले पु¥याएको भूमिका उल्लेखनीय रहेको बताए । उनीहरूले भने, “न्याय सम्पादनमा तपाईँहरूले देखाउनुभएको निष्पक्षता, धैर्य र परिश्रम हाम्रा लागि प्रेरणादायी छ । तपाईँहरूको अभाव खड्किनेछ तर फेरी भेटौंला भन्ने विश्वास पनि हामीले राखेका छौं ।”

कार्यक्रममा बोल्दै न्यायाधीशज्यूहरूले सुनसरीमा बिताएको कार्यकाललाई स्मरण गर्दै बार र बेंचबीचको सहयोगात्मक भूमिकाको प्रशंसा गरे ।मुख्य जिल्ला न्यायाधीश मुकेश कुमार उपाध्यायले भने, “न्याय प्रशासनलाई प्रभावकारी बनाउन वकिल साथीसँगको निरन्तर संवाद र समन्वयले ठूलो सहयोग पुर्यायो । यो अनुभव मेरो न्यायिक यात्रामा अमूल्य रहनेछ ।”
न्यायाधीश उषा श्रेष्ठले वकिल समुदायसँगको आपसी सम्बन्ध र पेशागत इमान्दारितालाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।
न्यायाधीश नागेन्द्र कुमार कालाखेतीले सुनसरीमा रहेको सामाजिक विविधता र चुनौतीपूर्ण मुद्दा व्यवस्थापनको अनुभव साझा गर्दै यसले आफ्नो पेशागत क्षमता अझ परिपक्व बनाएको बताए ।न्यायाधीश शम्भु गौतमले समेत बार एसोसिएसनले दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि न्यायिक सेवामा आपसी सहकार्य आवश्यक रहेको जोड दिनुभयो ।
यसैबीच, सुनसरी जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले पनि आफ्नो भनाइ राख्दै न्यायाधीशज्यूहरूको कार्यशैली र योगदानको प्रशंसा गरे । उनले भने , “विदाइ हुने न्यायाधीशज्यूहरूको नेतृत्व, कार्यशैली र पेशाप्रतिको समर्पणले सम्पूर्ण अदालत परिवारलाई प्रेरणा दिएको छ । कर्मचारीहरूको मनोबल उच्च राख्न, न्यायिक प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन र अदालतलाई सेवामुखी बनाउन उहाँहरूको सक्रियता उल्लेखनीय रह्यो । तपाईँहरू जहाँ गए पनि न्याय र न्यायप्रति समर्पणको यही भावना निरन्तर रहोस् भन्ने हाम्रो शुभकामना छ ।”
कार्यक्रममा विभिन्न वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, पत्रकार, स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले विदाइ हुने न्यायाधीशज्यूहरूलाई फूलमाला, दोसल्ला र सम्मानपत्र अर्पण गर्दै भावपूर्ण बिदाइ गरे ।
बार एसोसिएसन सुनसरीका सचिवले धन्यवाद ज्ञापन गर्दै भने, “न्यायालय र समाजबीचको पुल बन्ने भूमिकामा न्यायाधीशज्यूहरूले पुर्याएको योगदान सदैव स्मरणीय रहनेछ । तपाईँहरूको नयाँ कार्यक्षेत्रमा अझ सफलता प्राप्त होस् भन्ने हाम्रो शुभेच्छा छ ।”




















