काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरू फेर्नेगरि अघि बढेका छन् । तुर्केमेनिस्तानको भ्रमण सकाएर फर्किएका प्रधानन्त्री ओलीले आजबाट मन्त्रिपरिषद् पूनर्गठनकेन्द्रित छलफल थालेका छन् । विहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका प्रधानमन्त्री ओलीले अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
देउवासँग कांग्रेस र एमालेका पनि मन्त्रीहरु फेर्नको लागि सहमति माग्ने प्रयासमा रहेका प्रधानमन्त्री ओली असफल भएका छन् । देउवाले मन्त्रीहरु फेर्नैपरे कांग्रेसबाहेकका फेर्न सुझाव दिएका छन् । अहिले मन्त्रीहरु चलाउँदा कांग्रेसभित्र मिलेको राजनीतिक सन्तुलन बिग्रिने देउवाको चिन्ता थियो ।
आजको बालुवाटारको कांग्रेस–एमाले हाईलेभल छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । दुवै दलबाट मन्त्रिपरिषद् पूनर्गठन हुने भएपनि यी दुई मन्त्रीहरु फेरबदल नहुने उच्चस्रोतको दाबी छ । प्रधानमन्त्री ओली यतिवेला लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईको प्रेसर थेक्नुपर्ने बाध्यतामा छन् ।
दुवै नेताले आफ्नो दलबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निश्कर्षमा पुगिसकेका छन् । प्रधानमन्त्री ओली तुर्केमेनिस्तान भ्रमणमा जानुअघि नै अशोकले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले विदेशबाट फर्किनेबित्तिकै जसपाका मन्त्रीहरु फेरबदल गर्ने वचन दिएका थिए ।
लोसपाले अहिले श्रममन्त्री रहेका शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई पठाउने भएको छ । ठाकुरले शुक्लको नाम बालुवाटार पठाईसकेका छन् । उता, अशोक राईले पनि आफ्नो दलबाट अहिले मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउने भनेका छन् ।
देउवाले कांग्रेसका मन्त्रीहरु फेरबदल नगर्ने अडान लिएपछि अब प्रधानमन्त्री ओलीले एमालेका केही मन्त्रीहरु, लोसपा र जसपाका मन्त्रीहरु फेरबदल गरेर यही साता मन्त्रिपरिषद् पूनर्गठन गर्ने भनेका छन् ।




















