इटहरी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ।

अध्यक्ष माधव नेपालसँग ‘मनमुटाव’ बढिरहेका बेला खनालले गौतमसँग आफ्नै निवासमा छलफल गरेका हुन्। दुई नेताबीच आधा घण्टादेखि छलफल चलिरहेको छ। खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम उनको निवास पुगेका हुन्।

खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ। नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन्।

अध्यक्ष माधव नेपालसँग नेता खनालको ‘वाकयुद्ध’ चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।

त्यसो त हालै मात्र एकीकृत समाजवादीमा सम्मिलित वामदेव गौतम पनि पार्टीप्रति सन्तुष्ट छैनन्। उनले आफूलाई पार्टीमा काम नदिए लामो समय रहन नसक्ने चेतावनी दिइसकेका छन्। यहीबीच पार्टीका दुई नेता खनाल र गौतमबीच भेटवार्ता भइरहेको हो।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि पार्टीको बैठक बोलाइएको छ।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। भदौ ४ गते स्थायी, ५ गते पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उनले बताए। केन्द्रीय कमिटीको बैठक भने भदौ ८ गते मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ।