पवन सिग्देल, साउन ५ — टेकुस्थित कौसी थिएटरमा साउन ७ गतेदेखि सामाजिक रहस्य र मनोवैज्ञानिक द्वन्द्वमा आधारित नाटक ‘कागताली’ मञ्चन हुने भएको छ। नविनचन्द्र अर्यालद्वारा लिखित तथा निर्देशित यस नाटकमा एक सम्पन्न परिवारमा घटेको गम्भीर घटना र त्यससँग जोडिएका रहस्यहरू क्रमशः उद्घाटित हुँदै जान्छन्।

नेपाली समाजमा अनपेक्षित घटनाको प्रतीकका रूपमा प्रचलित ‘कागताली’ शब्द जस्तै, नाटकको कथा पनि अप्रत्याशित मोडमार्फत अघि बढ्ने निर्देशक अर्यालले बताएका छन्। उनका अनुसार नाटकले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र मानिसको मनोविज्ञानबारे गहिरो प्रश्न उठाउने प्रयास गरेको छ।

साउन ७ देखि ३१ गतेसम्म हरेक दिन साँझ ५:१५ बजे कौसी थिएटरमा नाटक मञ्चन हुनेछ भने शनिबार अतिरिक्त शो दिउँसो १ बजे हुनेछ।

सविन भट्टराई र विष्णु राई सह-निर्देशक रहेको नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अम्रित काउचा, सुष्मा निरौला, दिपेन्द्र शाही, आक्रिती बुढाथोकी र युबिना भट्टराईले अभिनय गरेका छन्।

झन्डै एक दशकदेखि रंगकर्ममा सक्रिय रहँदै आएका नविनचन्द्र अर्यालको यो पहिलो निर्देशन हो। ‘कागताली’ मार्फत उनले रंगमञ्चमा आफ्नो निर्देशन यात्रा आरम्भ गरेका छन्।