इटहरी ।  भारतबाट अवैध रूपमा माछा आयात बढेसँगै नेपालको आन्तरिक माछा बजारमा असमान प्रतिस्पर्धा बढेको भन्दै किसानहरू संकटमा परेको जनाएका छन्।  नेपाल माछा पालन किसान संघले एक पत्रकार सम्मेलन गर्दै भारतबाट अवैध रूपमा माछा आयात हुँदा स्वदेशी माछा व्यवसायीहरू संकटमा परेको भन्दै तत्काल ठोस नीति तथा नियन्त्रणको माग गरिएको हो। संघका सचिव पुष्प अधिकारीका अनुसार भारतबाट सस्तो मूल्यमा माछा आयात भइरहेका कारण झापा, मोरङ, सुनसरी लगायत तराईका जिल्लाका हजारौं किसानको लगानी जोखिममा परेको हो । सरकार र प्रशासनको बेवास्ताका कारण तस्करहरूले खुलमखुल्ला सीमा क्षेत्रबाट माछा भित्र्याइरहेको उनको भनाइ रहेको छ ।

खासगरी भारतबाट आएका माछा बजारमा दुई सय ७० रुपैयाँसम्म बिक्री हुँदै आएको छ भने नेपालमै उत्पादन भएका माछा तीन सय २० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । भारतबाट भन्सार नै नतिरीकन अवैध रूपमा माछा भित्रिइरहेको  उनले भने, ‘सुनसरी, मोरङ र झापामा मात्रै एक दिनमा ८ टनसम्म माछाको खपत छ । हाट, बजारमा बेचिनेमध्ये ९० प्रतिशत माछा भारतबाटै आएका छन् । जसले स्वास्थ्यमा असर त छदैँछ, नेपाली उत्पादन पनि संकटमा छ । तथ्याङ्कअनुसार, झापा, मोरङ र सुनसरी जिल्लामा उत्पादन भइसकेको करिब चार हजार टन माछा बजारमा बिक्री हुन सकेको छैन। माछा तयार छ, तर बजार छैन,’ अधिकारीले भने, ‘सस्तो भारतीय माछाले हाम्रो उत्पादन बिक्री हुन सकेको छैन।’

खासगरी नेपालमा स्वदेशी जातको पङ्गास माछा व्यवसायिक उत्पादन गरिँदै आएको छ। तर बजार संरक्षण नभएकाले किसानहरू जोखिममा परेको माछा व्यवसायी अध्यक्ष दीपक थापाले बताए भारतीय नाकाबाट छ्यापछ्याप्ती भित्रिने गुणस्तरहीन माछाले उपभोक्ताको स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको उनले उदृत गरे।

दैनिक २० टनसम्मको अवैध आयात, स्वास्थ्यसमेत जोखिममा

संघले प्रस्तुत गरेको विवरणअनुसार नेपाल–भारत सीमाबाट दैनिक करिब २० टन माछा अवैध रूपमा नेपाल भित्रिरहेको छ। विराटनगरको जोगवनी नाका, झापाको भद्रपुर, काँकडभिट्टा लगायतका स्थानहरू तस्करीका केन्द्रका रूपमा चिनिएका छन्। तस्करीमा प्रयोग हुने सवारीसाधनमा ट्रक, पिकअप, मोटरसाइकल र टेम्पोहरू रहेका छन्। ‘कतिपय माछाहरू नेपालमा उत्पादन गर्न समेत निषेधित जातका छन्, तर तिनै माछा यहाँ खुलेआम बिक्री भइरहेका छन्,’ थापाले भने।


उनले माछा उचित प्रशोधनबिना खुलेआम भित्र्याइँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा परेको बताए। स्थानीय बजारमा अनुगमन नगर्ने र अवैध माछा नियन्त्रणमा कुनै चासो नदिने प्रशासन र सरकारको भूमिकाले स्वदेशी उत्पादन संकटमा परेको संघले जनाएको छ। नेपाल सरकारले स्वदेशी माछा संरक्षण र प्रोत्साहनको स्पष्ट नीति ल्याउनुपर्छ,’ संघले प्रेस विज्ञप्तिमा भनेको छ, ‘भन्सार नाकामा कडाइ गर्नुपर्छ र अनुमति बिना भित्रिने सबै माछा नियन्त्रण गरिनुपर्छ।’

खासगरी सरकारले स्वदेशी माछा संरक्षणसम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने, भन्सार र प्रशासनलाई सक्रिय पार्दै तस्करी नियन्त्रणमा पहल गरिनुपर्ने, अवैध माछा भित्र्याउने नाकामा कडाइ गरिनुपर्ने, अनुमतिबिना माछा आयात बन्द गरिनुपर्ने, बजारमा अनुगमन गरी अवैध माछाको बिक्री नियन्त्रण गरिनुपर्नेजस्ता माग राखेका छन्।