इटहरीमा बाल श्रम, महिला हिंसा तथा लागुऔषध दुरुपयोगविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले बालबालिकाको अधिकार, महिलामाथि हुने हिंसाका विभिन्न रूपहरू तथा युवामाझ फैलिँदो लागुऔषध दुरुपयोगका असरबारे गहिरो विश्लेषण प्रस्तुत गर्यो। सहभागीहरूबीच सामाजिक, मानसिक र कानुनी पक्षमा विस्तृत छलफल गरिएको थियो।
सामाजिक अभियन्ता राधिका पौडेलले कार्यक्रमको प्रमुख वक्ताका रूपमा बोल्दै समाजमा बाल श्रम, महिला हिंसा र लागुऔषधजस्ता विकृतिहरू गम्भीर चुनौती बन्न थालेको बताउनुभयो। उहाँले यस्ता समस्याको समाधानका लागि सरकारी, गैरसरकारी र समुदायस्तरबाट समन्वित प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा बाल अधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी, शिक्षक, अभिभावक, युवा स्वयंसेवक लगायतको सक्रिय उपस्थिति थियो। अभिमुखीकरण सत्रमार्फत बाल श्रमसम्बन्धी कानुनी व्यवस्था, घरेलु हिंसाविरुद्धको कानुनी संरक्षण, तथा लागुऔषधको दुष्प्रभावबारे स्पष्ट जानकारी प्रदान गरियो।
कार्यक्रमको विशेष पक्षका रूपमा महिलामाथि हिंसाको शिकार बनेका प्रत्यक्ष पीडितहरूले आफ्नो अनुभव साझा गरे, जसले सहभागीहरूलाई थप संवेदनशील र जागरुक बनाएको विश्वास गरिएको छ। यस्तै, लागुऔषध प्रयोगबाट ज्यान गुमाएका वा पुनःस्थापना केन्द्र पुगेका युवाहरूका कथाले कार्यक्रममा थप प्रभावकारिता थपेको थियो।
इलाका प्रहरी कार्यालय इटहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण कुमारी अधिकारीले लागुऔषध सेवन, ओसारपसार तथा बिक्री वितरणमा लागू हुने कानुनी व्यवस्था र सजायबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभयो।
अधिवक्ता वर्षा भण्डारीले महिला हिंसा केवल शारीरिक नभई मानसिक, आर्थिक, सामाजिक तथा साइबर माध्यमबाट पनि हुन सक्ने बताउँदै पीडितले न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माणमा समुदायको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अधिवक्ता कल्पना पाण्डेले हिंसा र लागुऔषध दुर्व्यसनले मानसिक स्वास्थ्यमा पार्ने असरबारे प्रकाश पार्दै पीडितहरूमा देखिने आत्मग्लानि, डर, तथा आत्महत्याको सोचजस्ता समस्याको उपचारका लागि मनोसामाजिक परामर्श अपरिहार्य रहेको बताउनुभयो।
बाल श्रमसम्बन्धी कानुनी पक्षबारे अधिवक्ता बद्री पोखरेलले बोल्दै, “बालबालिकालाई श्रममा लगाउनु कानुनतः अपराध हो। उनीहरूलाई शिक्षाबाट टाढा राख्नु भनेको पुस्ताको भविष्य तहसनहस गर्नु हो,” भन्नुभयो। उहाँले बाल श्रमको बहिष्कार गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अन्तरक्रिया, अनुभव आदान–प्रदान तथा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने आवश्यकता औंल्याउँदै, स्थानीय समुदायमै आधारित समाधानको पहल गर्ने प्रतिबद्धता जनाए।
इटहरी उपमहानगरपालिका–९ का वडा सदस्य कपिल घिमिरेले वडा कार्यालयले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखी योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चार जना विषय विशेषज्ञ प्रशिक्षकहरूले बाल श्रम, महिला हिंसा तथा लागुऔषधसम्बन्धी विभिन्न पक्षबारे सशक्त प्रशिक्षण र विचार प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको आयोजनामा संलग्न फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष विकल रेग्मीले आफ्नो संस्था अनुसन्धानमूलक कार्यक्रम र जनसरोकारका क्रियाकलापमा विशेष प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो।
यस कार्यक्रममार्फत समुदायस्तरमा चेतनाको स्तर अभिवृद्धि हुनुका साथै दीर्घकालीन सामाजिक परिवर्तनका लागि सामूहिक प्रयासको थालनी भएको विश्वास लिइएको छ।