म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ । नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत रु तीन करोड १९ लाखको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ । यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटी दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट पारे । बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसिसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ ।
विसं २०७२ मा कालीगण्डकी किनारमा रु एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरेको थियो । कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७ औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो ।
अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ ।




















