इटहरी । शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलले आफना सदस्यहरुका लागि कर योजना तथा वित्तिय व्यवस्थापन सम्वन्धी सेमिनार गरेको छ ।
सुनसरीको इटहरी स्थित पाथिभरा होटलमा आयोजित सेमिनारमा वित्तिय व्यवस्थापनका क्षेत्रमा दक्षता प्रदान गर्ने उद्धेश्यले इक्यान पूर्वाञ्चलले कर योजना तथा वित्तिय व्यवस्थापन सम्वन्धी सेमिनार आयोजना गरेको हो ।
कर योजना र वित्तिय व्यवस्थापनका विषयमा सदस्यहरुलाई जानकारी गराउन आयोजना गरिएको सेमिनारमा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले कर योजना तथा वित्तिय व्यवस्थापन सम्वन्धी विषय केन्द्रित सहजिकरण गरेका थिए भने उनले राज्यको निती नियम पालना गर्दै शैक्षिक परामर्शका क्षेत्रलाई अझ व्यवस्थित वनाउदै लैजानु पर्नेमा जोड दिए ।
त्यसै गरी इक्यान केन्द्रका कोषाध्यक्ष आशिक कार्कीले करसम्बन्धी नियम, प्रक्रिया र व्यावहारिक पक्षहरूका विषयमा सहभागीहरूलाई जानकारी गराए ।
कार्यक्रममा इक्यानका केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानले आफना सदस्यहरुको हितमा सदैव काम गर्दै आएको जानकारी गराएका थिए ।
इक्यान पूर्वाञ्चलका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रविन्द्र निरौलाले दर्ता विना शैक्षिक परामर्शका क्षेत्रमा काम गर्नेहरुले वढी पैसा अशुल्ने गरेको गुनासोहरु आइरहेको तर्फ मध्यनजर गर्दै व्यवस्थित वनाउन केन्द्रले समन्वय गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार कमल तिम्सिना लगायतले वोलेका थिए ।
सोही अवसरमा इक्यान पूर्वाञ्चलमा एक वर्षको अवधिमा थपिएका १४ जना नयाँ सदस्य संस्थालाई सदस्यता प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा इक्यान पुर्वाञ्चलका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।