इटहरी । जबरजस्ती करणी उद्योगमा २०८१ वैशाख ९ गते पक्राउ परी झुम्का कारागारमा पूर्वपक्षमा रहेका बराहक्षेत्र-२, पुनर्वास सुनसरी निवासी भेषराज घिमिरेलाई अन्तत: सुनसरी जिल्ला अदालतले ३ वर्ष ६ महिना जेल सजाय तोकेको छ । मिति २०८२ बैशाख १७ गते बसेको शम्भु गौतमको एकल इजलासले घिमिरेलाई जेल सजाय तोकेको हो ।
घिमिरे २०७७ वैशाखदेखि २०८१ वैशाखसम्म बृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष थिए साथै आदर्श मा.वि. बराहक्षेत्र-२, सुनसरी का भू.पू. सह-प्राध्यापक, शंकराचार्य मठका तत्कालीन अध्यक्ष एवं नेकपा एमाले निकट राजनीतिमा सक्रिय व्यक्ति थिए । उक्त घटना पश्चात पार्टीले उनलाई निलम्बन पनि गरेको थियो । साथै राधाकृष्ण भक्ति प्रतिष्ठान एवं प्रथम जगद्गुरु पिठ बराहक्षेत्र-१ चतराको आफू सदस्य रहेको कुरा पनि उनले बताउँदै आएका थिए ।
२०८० फागुन ३० गते पीडित बराहक्षेत्र A कुमारी राति करिब ८ बजे आफ्नो कोठामा बसिरहेको अवस्थामा निज भेषराज घिमिरे कोठामा अचानक प्रवेश गरी जबर्जस्ती करणी उद्योगको गरेका थिए । पीडित महिला बराहक्षेत्र A कुमारीले आफ्नो बचाउमा प्रतिकार गर्दा भेषराज अझ हिंस्रक बनी जबरजस्ती करणी गरे । उक्त समयमा महिलालाई भेषराज घिमिरेले राधाकृष्ण भक्ति प्रतिष्ठान तथा प्रथम जगद्गुरु पिठको म खास व्यक्ति हुँ भन्दै धम्काएका थिए भने घटना घटिसकेपछि पनि निज घिमिरेको परिवारले पीडित महिलालाई पटकपटक विभिन्न आर्थिक प्रलोभन देखाउने एवं अनेक तवरले फकाउने प्रयास गर्दै आएका थिए । पीडित महिला यस्ता प्रलोभनमा नफसेपछि अदालतमा गइस् भने ठिक हुँदैन भन्दै अङ्गभङ्ग गरिदिने धम्की दिँदै आएका थिए।
समाजमा महिलामाथि गरिने यस्ता प्रकारका जघन्य अपराध गर्ने अपराधीलाई अदालतले पोख्त प्रमाणका आधारमा कैद सजाय तोकेर जेल चलान गरी पीडितलाई न्याय दिलाएको छ । विगत एक वर्षदेखि चलिरहेको पीडित महिलाको सङ्घर्षलाई जिल्ला अदालत सुनसरीले उच्च सम्मानका साथ न्याय प्रदान गरेको छ । अदालतको यस्तो न्यायपूर्ण फैसलाले समाजमा यो एक महिलाको मात्र जित नभई सम्पूर्ण पीडित महिलाहरूको जित भएको पीडित महिलाले बताइन ।




















