भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो ।

सुदीपलाई काका कपिलदेव न्यौपानेले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जाकारी दिए ।बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो । छिमेकी अमृत भुसालका अनुसार, सुदीपले पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका थिए, त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । ‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने युवाको मृत्युले अहिले बुटवल शोकाकुल भएको उनी बताउँछन् ।

शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर सुनेका थिए । आमा, बहिनी र ज्वाइँसँग कश्मिर घुम्न गएका सुदीप मंगलबार दिउँसो आंकवादी हमलामा परेका थिए । आमा, बहिनी र ज्वाइँ भने जोगिन सफल भएका थिए ।