इटहरी । शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीलाई आफू कार्यरत विद्यालयमै अध्ययन गराउने निर्णयले इटहरीस्थित जनता माध्यमिक विद्यालयलाई कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा पुर्याएको छ। विद्यालयको शैक्षिक, भौतिक र संस्थागत विकासमा आएको उल्लेखनीय परिवर्तनलाई मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँशीनाथ दङ्गालले जानकारी दिएअनुसार, सुधार अभियान सुरु हुनुअघि विद्यालयमा १२८४ जना विद्यार्थी अध्ययनरत थिए भने हालको तथ्यांक अनुसार विद्यार्थी संख्या ३२०२ जना पुगेको छ। यसरी विद्यार्थी संख्याको तीनगुणा वृद्धिले विद्यालयप्रति बढ्दो विश्वास र आकर्षणलाई देखाएको छ।
शिक्षककै विश्वासस् सुधारको पहिलो खुड्किलो
विद्यालय सुधारको मूल सन्देश भनेकै शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई यही विद्यालयमा पढाउनु हो। जब शिक्षक स्वयंले शिक्षाको गुणस्तरमा विश्वास गर्न थाले, तब अभिभावक र समाजको नजरमा पनि विद्यालयप्रति भरोसा थप बलियो बन्यो।
भौतिक पूर्वाधारस् विस्तार हुँदै तर पर्याप्त छैन
विद्यालयले हालसम्म ७६ वटा कक्षाकोठा निर्माण गरी भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गरेको छ। तर विद्यार्थीको चाप अत्यधिक भएका कारण हरेक वर्ष करिब १००० जना नयाँ विद्यार्थीलाई कक्षा अभावका कारण भर्ना गर्न नसकिने अवस्था रहेको अध्यक्ष दङ्गालले स्वीकार गरे। विद्यालय व्यवस्थापन समितिले भौतिक पूर्वाधार विस्तारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सरकार, संघ–संस्था र समुदायसँग अपिलसमेत गरेको छ।
विषयगत विस्तारस् अब विज्ञान, कानून र सूचना प्रविधिमा ध्यान
कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान, कानून र विज्ञान विषयहरू सञ्चालनमा छन्। यी विषयहरूको थालनीले विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्ने र भविष्यका चुनौतीहरूसँग सामना गर्न सक्षम बनाउने उद्देश्य लिएको विद्यालयले जनाएको छ।
कर्मचारी व्यवस्थापन र पारदर्शी सञ्चालन
विद्यालयमा हाल १४८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। तीमध्ये ३२ जना राज्यकोषबाट सेवा सुविधा प्राप्त गरिरहेका छन् भने बाँकी कर्मचारीहरूको पारिश्रमिक र सुविधा व्यवस्थापनमा अभिभावकहरूको सक्रिय सहजीकरण रहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ।
नेतृत्वको हस्तान्तरणस् नयाँ व्यवस्थापन समितिको तयारी
वैशाख ३ गतेबाट हालको व्यवस्थापन समितिको कार्यकाल समाप्त हुँदैछ। सोअनुसार विद्यालय प्रशासनले नयाँ नेतृत्व चयनका लागि तयारी थालिसकेको छ। पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवश पोखरेलले विद्यालय मातहतको जग्गा पहिचान र व्यवस्थापन गर्न विद्यालय प्रशासनलाई सुझाव दिएका थिए।