इटहरी । मनोरञ्जनका क्षेत्रमा काम गर्ने किशोरी तथा महिलाहरुको हक अधिकारी लगायतका विषयमा राष्ट्रिय महिला इजलासको फैशला समेतलाई समेटेर मनोरञ्जन तथा सत्कारका क्षेत्र केन्द्रित काठमाडौं घोषणा पत्र सरोकारवाला सरकारी निकायहरुमा वुझाइएको छ ।
केही दिन अघि मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरुको हक,अधिकार लगायत विषयमा काम गर्ने सामाजिक संस्थाहरुले तयार पारेको घोषणा पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी , मोरगंका साथै धरान उपमहानगरपालिका तथा दमक नगरपालिकाको सामाजिक शाखालाई वुझाइएको हो ।
इटहरीमा रहेका विभिन्न संघसस्थाहरुको सञ्जाल इटहरी रिफरल मेकानिजम टिमसंगको समन्वयमा कोशी प्रदेश श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालय मोरगंमा समेत घोषणा पत्र वुझाइएको श्रमिक महिला साझा मञ्च इटहरीकी परिचालिका संगिता राजवंशीले जानकारी दिइन ।
श्रमिक महिला साझा मञ्च इटहरीको अगुवाईमा युनाइटेड डेमोक्रेसी फाण्डको आर्थिक सहयोग र महिलाका निम्ती महिला मञ्च नेपालको साझेदारीमा सुनसरी ,मोरगं र झापाका विभिन्न मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकार लगायतका क्षेत्रमा आवाज उठाउने, क्षमता अभिवृद्धिका साथै आय आर्जनमा सहयोग पुग्ने गरी सिपमुलक कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।




















