एजेन्सी ।  बलिउड फिल्म ‘सिकन्दर’ ले पहिलो दिन भारतमा २६ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। यस फिल्मले विश्वभरबाट ५० करोड भारुको ओपनिङ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

इदको अवसरमा रिलिज भएको यस फिल्मलाई बहुप्रतिक्षित मानिए पनि बक्सअफिसमा भने खासै कमाल गर्न सकेन। किनकी सलमानका पछिल्लो फिल्ममध्ये ‘सिकन्दर’ ले सबैभन्दा कम ओपनिङ गरेको छ। 

कमजोर सुरुवात भए पनि सोमबार इदको बिदाका कारण दर्शकहरु बढ्ने अपेक्षा गरिएको छ। अनलाइन पाइरेसीले पनि यसको व्यापारमा असर पारेको हो। 

सलमानले भारतमा अहिलेसम्म ५०० करोड भारुको कमाई गर्न सकेका छैनन्, जुन उनका समकालीनहरूले हासिल गरिसकेका छन्। शाहरुख खानले पठान र जवान, रणवीर कपुरले एनिमल, सनी देओलले गदर २, विक्की कौशलले छावा र स्त्री २ ले पनि घरेलु कलेक्शनमा ५०० करोडको पार गरिसकेका छन्।
 
एक्सन जनरामा बनेको यस फिल्ममा सलमानसहित रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। यस फिल्ममा एआर मुरुगादासको निर्देशन रहेको छ। निर्देशक मुरुगादासले यसअघि गजनी, हलिडे र अकिराजस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन्। साजिद नाडियाडवालाले निर्माण गरेको फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स हो।