सुनसरी । बालअधिकार संरक्षण तथा अनलाइन बाल यौनदुव्र्यवहार रोकथामका उपायबारे सचेतना फैलाउने उद्देश्यले भ्वाइस अफ चिल्ड्रेन को आयोजनामा एकदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा कानुनी क्षेत्रका विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीशहरू, सरकारी वकिल, कानुन व्यवसायी, नेपाल प्रहरीका प्रतिनिधि, तथा बालअधिकार सम्बन्धी काम गर्ने संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा बालबालिकामाथि हुने अनलाइनबाट हुने यौनजन्य अपराधहरूबारे विस्तृत छलफल गरिएको थियो । 

बालबालिकामाथि हुने अनलाइन दुव्र्यवहारको प्रकृति जटिल बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न कडा कानुनी प्रावधानका साथै सचेतना अभियान आवश्यक रहेको सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायले  बताए । उनले नेपालको मौजुदा कानुनी व्यवस्था तथा बालअधिकारसम्बन्धी राष्ट्रिय कानुनी दायित्वहरूबारे जानकारी गराउँदै बालबालिकाको सुरक्षाका लागि अझ कडा नीति आवश्यक रहेको बताए ।  नेपाल प्रहरीका सुनसरी जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुमन तिमलसिनाले हाल नेपालमा अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुव्र्यवहारका विभिन्न स्वरूपहरूबारे जानकारी गराएका थिए।  उनले ग्रामिण तथा शहरी क्षेत्रमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधहरू समेत बढिरहेको तथ्यांक प्रस्तुत गर्दै प्रहरीले प्रविधिमा आधारित अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा कानुन व्यवसायी  बद्री पोखरेल  वर्षा भण्डारी , कल्पना पाण्डे लगायतले बालअधिकार सुनिश्चित गर्न न्यायिक प्रक्रियाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए । अनलाइनका माध्यमबाट बालबालिकामाथि हुने साइबर अपराध, यौनजन्य दुव्र्यवहार तथा जबर्जस्तीकरणका घटनाहरू बढ्दै गएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरे।

कार्यक्रमका दौरान बालअधिकार हनन रोक्न न्यायिक संयन्त्र, सरकारी वकिल, कानुन व्यवसायी, र सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। साथै, बालबालिकालाई इन्टरनेट सुरक्षित तरिकाले प्रयोग गर्न सिकाउने, अभिभावकहरूलाई सचेत गराउने, तथा विद्यालय स्तरमै डिजिटल सुरक्षाबारे शिक्षा दिनुपर्ने सुझावहरू आएका थिए । कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले बालअधिकार संरक्षणका लागि प्रभावकारी कानुनी व्यवस्था निर्माणका लागि आफ्ना सुझावहरू राख्ने अवसर पाएका थिए। उनीहरूले कानुनी कारबाहीलाई प्रभावकारी बनाउन प्रमाण संकलन, अनुसन्धान प्रक्रियामा सुधार, र बालमैत्री न्याय प्रणालीको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यशाला अन्त्यमा सहभागीहरूबीच बालअधिकार संरक्षण तथा अनलाइन यौनदुव्र्यवहार नियन्त्रणका लागि नीति तथा कार्ययोजनाहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। भ्वाइस अफ चिल्ड्रेनले आगामी दिनहरूमा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै बालबालिकाको सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने भ्वाइस अफ चिल्ड्रेन कायक्रम संयोजक गोविन्द कोइरालाले बताएका छन ।   बालअधिकार संरक्षण तथा साइबर सुरक्षाका क्षेत्रमा सचेतना र कानुनी कार्यान्वयनलाई अझ मजबुत बनाउन यस्ता कार्यशालाहरू नियमितरूपमा आयोजना गरिनुपर्नेमा सबै सरोकारवालाहरू एकमत देखिएका थिए । 

भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश प्रमुख भरत थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला न्यायधीस प्रकास राउत ,सुनसरी जिल्ला अदालतका श्रेतेदार टिकेन्द्रवीर जंग राणा  ,जिल्ला न्यायाधिवत्ता टेकनाथ अधिकारी लगाएतको सहभागीता रहेको थियो ।