इटहरी । लक्जरी एसयूभी ब्रान्ड स्काईवेलले सोमबार इटहरीमा आफ्नो शाखा विस्तार गरेको छ। इटहरीको लविपुरस्थित नयाँ स्वरुमको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक समारोहबीच गरेका हुन्।
कार्यक्रममा मन्त्री राईले विद्युतीय गाडीहरूले जलवायु परिवर्तनको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, "हाम्रा हिमालहरू कालोपत्रे भइसकेका छन्, प्रदूषण बढिरहेको छ। स्वच्छ ऊर्जाको प्रयोगले प्रदूषणरहित सहर बनाउन सक्छौँ।" मन्त्री भएपछि कार्यालय प्रयोजनका लागि विद्युतीय गाडी खरिदको निर्णय गरेको उनले उल्लेख गरे।
चिनियाँ ब्रान्ड स्काईवेल ६५ भन्दा बढी मुलुकमा निर्यात भइरहेको छ। कम्पनीका जनरल म्यानेजर थोमस झुका अनुसार स्काईवेलले अनुसन्धान, विकास, र आर्थिक सुरक्षामा ठोस लगानी गर्दै विश्व बजारमा प्रभाव जमाइरहेको छ।
इटहरीका लागि आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले प्रतिष्ठित ग्राहकलाई लक्षित गर्दै स्काईवेल गाडी उपलब्ध गराइने बताए। उनका अनुसार ७९.९ लाख रुपैयाँदेखि एक करोड १५ लाख रुपैयाँसम्म पर्ने एसयूभीहरूमा ४१० किलोमिटर रेन्जको भेरियन्ट उपलब्ध छ।
कार्यक्रमका वक्ताहरूले ईभीको भविष्यप्रति आशावादी रहँदै मर्मत तथा चार्जिङ पूर्वाधार विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए।कार्यक्रममा उद्याेग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष पिताम्बर पाेख्रेल , नेपाल बिज्ञापन बाेर्डका सदस्य पवन अधिकारी लगायतले सफलताकाे सुभकामना दिएका थिए ।




















