इटहरी । आगामी बैशाख देखि सुनसरीको इटहरीमा सञ्चालनमा ल्याउन लागिएको मंगल राधिका सदानन्द प्रणामी अस्पतालले एक महिने निःशुल्क स्वास्थय शिविर सञ्चालनमा ल्याएको छ ।
अस्पताल सञ्चालनमा ल्याइने कृष्ण प्रणामी मन्दिर परिषरमै एक महिने स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।
प्रेसर ,सुगर , मृगौला,फोक्सो लगायतको निःशुल्क परिक्षण सहित विशेषज्ञ चिकित्सकहरु समेतको सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको शिविरको इटहरी उपमहानगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी हेमकर्ण पौडेलले उदघाटन गरे ।
स्वास्थय शिविर उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी नगरप्रमुख पौडेलले व्यवस्थित रुपमा नागरिकहरुलाई उचित सेवा सुविधा सहितको नीजि स्तरबाट अस्पताल सञ्चालनमा ल्याउने कार्य प्रशंषा योग्य रहेको वताए ।
इटहरीमा ५सय वेडको अस्पताल सञ्चालन गर्ने लक्ष्य सहित पहिलो चरणमा आगामी वैशाख १ गते देखि विधिवत रुपमा १५ वेडको अस्पताल सञ्चालनमा ल्याउन लागेको मंगल राधिका सदानन्द अस्पताल सञ्चालनमा आउनु अघि एक महिने स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको वताइयो । सो अवसर अस्पतालका अध्यक्ष हेमप्रसाद घिमीरेले इटहरीमा ५सय वेडको अस्पतालको आवश्यकता रहेको महशुस गरेर अस्पताल सञ्चालनमा ल्याउन लागिएको र आगामी ५ वर्ष भित्रमा २सय वेडको अस्पताल सञ्चालनमा ल्याउने र १० वर्षमा ५सय वेडको पुर्याउने लक्ष्य सहित अगाडी वढीएको सो अवसरमा जानकारी गराए ।
१५वेडमा सञ्चालनमा आउने अस्पतालमा विशेषज्ञ चिकित्सक सहित सुविधा सम्वन्न ल्याव लगायतको सेवाहरु समेत रहेको पनि जानकारी गराइयो । अस्पताल सञ्चालन सहयोगार्थक यही चैत्र २६ गते देखि महायज्ञ समेत लगाइने समेत सो अवसरमा वताइयो ।
शिविर उदघाटन कार्यक्रममा कृष्ण प्रणामी नेपालका अध्यक्ष सन्त श्री १०८कृष्ण दासजी , सुन्दरहरैचा नगरपालिका पुर्व नगरप्रमुख शिवप्रसाद ढकाल , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भिम वहादुर पौडेल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,इटहरी उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष भक्त लामा लगायतको आतिथ्य रहेको थियो ।




















