सुनसरीको धरानस्थित वराह ग्रुप अफ कम्पनी र त्यससँग आबद्ध संस्थाहरूले झन्डै १४ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। कम्पनीका मुख्य पदाधिकारीहरू भने अझै फरार छन्।

बुधबार सुनसरी जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश मुकेश उपाध्यायको इजलासले ८ जनालाई थुनामा पठाउने आदेश दिएको हो। उनीहरूमाथि संगठित अपराध तथा सहकारी ठगीको आरोप लगाइएको छ।

थुनामा पठाइएकाहरू

१. रीना राई (वराह ग्रुपका अध्यक्ष शिव लामिछानेकी पूर्वपत्नी)

2. फूलमाया राई (सञ्चालक समिति सदस्य)

3. शेरबहादुर महत (ऋण उपसमितिका सदस्य)

4. अस्मिता भण्डारी

5. सुदिन विक (पूर्व लेखा सुपरीवेक्षक संयोजक)

6. इन्द्रकुमार ल्वागुन (ऋण उपसमितिका पूर्व सदस्य)

7. अर्पणा श्रेष्ठ (लेखापाल)

धरौटीमा छुटेका व्यक्ति

१. जतनमाया विक (सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माको पत्नी)

2. सरिता कालीकोटे (गङ्गा कालीकोटेका पत्नी)

3. विष्णुमाया तुलाधर (सञ्चालक सदस्य)

यी तीनजनालाई अदालतले जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

१४ अर्ब ठगी आरोपमा २६२ जना विरुद्ध मुद्दा

सरकारी वकिलको कार्यालयले गत बिहीबार जिल्ला अदालतमा २६२ जना विरुद्ध अभियोजन पत्र दर्ता गरेको थियो। उनीहरूमध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ अन्तर्गत कारबाही माग गरिएको छ। बाँकी २२७ जनालाई सहकारी ऐन अनुसार मात्र सजाय माग गरिएको छ।

अनुसन्धान प्रतिवेदनका आधारमा वराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) र उनका परिवारले ठुलो रकम हिनामिना गरेको आरोप लागेको छ।

कसले कति रकम हिनामिना गरे ?

▶ शिवकुमार विश्वकर्मा (अध्यक्ष) – ५.८८ अर्ब

▶ इन्द्रकुमार विश्वकर्मा (स्वर्गीय बुबा) – २.४५ अर्ब

▶ विष्णुमाया विश्वकर्मा (स्वर्गीय आमा) – ७१ करोड

▶ मन्दिरा लामिछाने (बहिनी) – १.२३ अर्ब

▶ मानबहादुर विश्वकर्मा (सहकारीका अध्यक्ष) – १.११ अर्ब

अदालतले यी व्यक्तिहरूबाट हिनामिना भएको रकम असुल गर्नुपर्ने आदेश दिएको छ।

अझै फरार रहेका प्रमुख व्यक्तिहरू

▶ शिवकुमार विश्वकर्मा (अध्यक्ष, वराह ग्रुप अफ कम्पनी)

▶ मानबहादुर विश्वकर्मा (अध्यक्ष, सहकारी संस्था)

▶ हरिकुमार धमला, प्रकाश लामगादे, शुभराज खाती, विकास लामगादे, सुरेश विक, शोभराज (अम्बरबहादुर) विश्वकर्मा, रवि पोर्तेल, पूर्णकुमार (पूर्णबहादुर) कालिकोटे लगायत

४१६८ जनाको उजुरी

धरान उपमहानगरपालिका–९ का शङ्कर थापा क्षेत्रीसहित ४१६८ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए। पीडितहरूले ५.८५ अर्ब रकम फिर्ता गराउन माग गर्दै जाहेरी दिएका थिए।

सरकारी वकिल र कानूनी पक्ष

झन्डै १४ अर्व बराबरको ठगी मुद्दामा ४१६९ जना जाहेरवालाका तर्फबाट सरकारी वकिल लगायत अधिवक्ता बद्री प्रसाद पोखरेल,कल्पना पान्डे, बर्षा भन्डारी,लक्ष्मण न्यौपाने , निमेष पोखरेल लगायतले बहस गरेका थिए। अब अदालतले पुर्पक्षमा रहेका ८ जना, धरौटीमा छुटेकाहरू र फरार व्यक्तिहरूको सम्बन्धमा थप कानूनी प्रक्रिया अघि बढाउने छ।