इटहरी  । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ आगामी फागुन २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ। निर्माता पक्षले गत पुस १२ गते पोस्टर सार्वजनिक गरेपछि बुधबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत टिकट बुकिङ खुल्ला भएको जानकारी गराएको छ।

प्रदर्शन अघि नै फिल्मले ३५ प्रतिशत टिकट बिक्री गरिसकेको निर्माता पक्षले जनाएको छ। विद्यार्थी जीवनका उतारचढाव, प्रेम प्रसंग, रहस्य तथा द्वन्द्व समेटिएको ‘होस्टेल ३’ ले राम्रो व्यापार गर्नेमा निर्माण टोली ढुक्क छ। निर्माता कर्ण कार्कीका अनुसार यो चलचित्र मनोरञ्जन प्रदान गर्ने मात्र नभई नयाँ प्रतिभा जन्माउने माध्यम पनि हो।

चार महिनामा छायांकन सम्पन्न गरी प्रदर्शनको तयारीमा जुटेको निर्माण पक्ष हाल प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने कथासहितको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्।