सुनसरी – इटहरीमा जारी १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागी शनिबार फाइनल खेल हुँदैछ। सगरमाथा युथ क्लब, मोरङ र मछिन्द्र फुटबल क्लब, काठमाडौं बीच इटहरी रंगशालामा दिउँसो ३ बजे फाइनल खेल हुनेछ।
शुक्रबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा कप्तानहरूले उपाधि जित्ने दाबी गरे। दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लबका कप्तान अशोक खवास ले घरेलु मैदान र दर्शकको समर्थनले उच्च मनोबल प्राप्त हुने बताए। प्रशिक्षक युवेन गुरुङ ले मछिन्द्र क्लब लगातार प्रतियोगिता खेलेर थकित भएकाले त्यसको फाइदा उठाउने रणनीतिमा रहेको बताए।
यता, पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको मछिन्द्र फुटबल क्लब उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। कप्तान विशाल श्रेष्ठ ले प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै उपाधि जित्नेमा ढुक्क रहेको बताए। टिम म्यानेजर शिरिस श्रेष्ठ ले पहिलो सहभागितामै फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उपाधि जित्ने विश्वास व्यक्त गरे।
सगरमाथा युथ क्लबले क्वार्टरफाइनलमा एनआरटी र सेमिफाइनलमा धरान एफसी लाई पराजित गर्दै फाइनलमा पुगेको हो। मछिन्द्र क्लबले भने क्वार्टरफाइनलमा झापा एफसी र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी), भारत लाई हराएको थियो।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। दुवै टिम उपाधि जित्न प्रतिबद्ध भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।




















