सुनसरी — कोसी प्रिमियर लिग क्रिकेटमा इटहरी आदर्श जाईन्टसले लगातार दोस्रो जीत हात पारेको छ। सुनसरीको भोक्राहा नरसिंहस्थित डा. खालिल आजाद खेल मैदानमा बुधबार सम्पन्न खेलमा इटहरी आदर्शले पूर्वेली सुपर किंग्स विराटनगरलाई २६ रनले पराजित गर्‍यो।

इटहरीले दिएको १३७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरको टिम ९ विकेटको क्षतिमा १११ रनमा सीमित भयो। विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४८ रन जोडे, भने श्रवण यादवले १४ र अभिषेक शर्माले ११ रनको योगदान दिए। इटहरीका बलर रासिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए, जबकि भूपाल लुइँटेलले ३ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३६ रनको योगफल तयार पारेको थियो। इटहरीका लागि गुल्सन झाले सर्वाधिक ३२ रन बनाउँदा अर्जुन घर्तीले २५ र रासिद खानले २३ रनको योगदान गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत रासिद खान ‘प्लेयर अफ द म्याच’ घोषित भए र नगद ५ हजार पुरस्कार प्राप्त गरे।

त्यही दिन भएको दोस्रो खेलमा नमुना ब्लाष्टरले दुहबी क्यापिटललाई २७ रनले हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गर्‍यो। नमुनाले टस जितेर पहिले ब्याटिङ गर्दै १४६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। तर, १४७ रनको विजयी लक्ष्य पछ्याएको दुहबीको टिम ९ विकेटको क्षतिमा १२० रनमै रोकियो।