सुनसरी – युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) लाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब १५औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मछिन्द्रले यूकेएफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेलको सुरुवातदेखि रोमाञ्चक भिडन्त
पहिलो हाफमा दुवै टिमले गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। दोस्रो हाफमा भने दुबै टोली आक्रमक बने।

६५औँ मिनेटमा यूकेएफसीका हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, पाँच मिनेटपछि अर्थात ७०औँ मिनेटमा मछिन्द्रले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। यूकेएफसीका खेलाडीको फउलपछि मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा नुरेन हरिमले सहजै गोल गर्दै खेल १-१ बनाए।

मछिन्द्रको उत्कृष्ट पुनरागमन
७२औँ मिनेटमा मछिन्द्रका मल्लिक बी. युसुफले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे।

यूकेएफसीले बराबरी गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। खेलको अतिरिक्त समयमा, ९३औँ मिनेटमा मल्लिक बी. युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको जित पक्का गरे।

फाइनलमा मछिन्द्र, भोली दोश्रो सेमिफाइनल
मछिन्द्रले अब शनिबार उपाधिका लागि फाइनल खेल्नेछ। विहिबार हुने दोस्रो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरी भिड्नेछन्।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए।