इटहरी / इटहरी आदर्श जायन्टसले कोशी प्रिमियर लिग क्रिकेटमा रोमाञ्चक जित दर्ता गरेको छ। सोमबार सम्पन्न खेलमा जायन्टसले दुहबी क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा महत्त्वपूर्ण जित हात पारेको हो।
दुहबीले दिएको १४५ रनको लक्ष्य इटहरीले अन्तिम बलमा पूरा गरेको थियो। खेलको अन्तिम बलमा १ रन आवश्यक रहेको अवस्थामा दीपेश कँडेलले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। फिर्दोस अन्सारीसँग साझेदारी गरेका दीपेशले नटआउट १२ रन बनाए, भने फिर्दोस ४३ रनमा अविजित रहे।
इटहरीको ब्याटिङमा अन्य खेलाडीहरू पनि योगदान गर्न सफल भए। भीम सार्कीले २४ रन जोडे, गुलसन झा र रशिद खानले समान २३-२३ रन बनाए, भने अर्जुन घर्तीले १९ रनको योगदान दिए।
त्यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको दुहबी क्यापिटल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। दुहबीका लागि लोकेश बम र तृतराज दासले समान ४३–४३ रनको योगदान दिए। लोकेशले ३ छक्का र ४ चौका प्रहार गरेका थिए, भने तृतराजले धैर्यपूर्ण पारी खेले।
यस जितसँगै इटहरी आदर्श जायन्टसले कोशी प्रिमियर लिगमा आफ्नो बलियो उपस्थिति जनाएको छ। प्रतियोगिता अझ रोमाञ्चक बन्दै गएको छ, जहाँ उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन्।




















