केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव दामोदर गौतम अचानक राजीनामा पत्र बुझाएर काठमाडौं फर्किएका छन् । गत पुस ४ गते मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव गौतम भोलिपल्ट पुस ५ गते नै प्रमुख सचिव लोकनाथ पौडेललाई राजीनामा पत्र बुझाउँदै फर्किएका हुन् ।उनले लेखेको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा छ । सो पत्रमा प्रमुख सचिव लोकनाथ पौडेलले तोकसमेत लगाइदिएका छन् ।  सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोक सेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ । तर गौतम पदस्थापन भएको लोक सेवा आयोग कार्यालयमा पनि हाजिर भएका छैनन् ।

किन लेखे राजीनामा पत्र  ?

सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकुलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ । राजीनामा पत्रको तल उनले आफ्नो कर्मचारी संकेत नम्बर पनि उल्लेख गरेर हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेलसँग गौतमको विवाद भएको थियो । मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘राजीनामा पत्र लेखेर बुझाउँदा उहाँ तनावमा जस्तो देखिनुहुन्थ्यो । प्रमुख सचिवको व्यवहारले आत्मसम्मानमा ठेस पुगेपछि उहाँले राजीनामा दिएको हुनसक्छ ।’ मुख्यमन्त्री सतिशकुमार सिंह उनको राजीनामाको विषयमा भने अनभिज्ञ छन् ।उहाँ कार्यालयमा आइसकेपछि मलाई प्रदेश लोक सेवा आयोगको सचिवमा पदस्थापन गरिदिन भन्नुभएको थियो । उहाँको इच्छा अनुसार नै आइतबारको क्याबिनेट बैठकबाट पदस्थापनको निर्णय गरेका छौं’ मुख्यमन्त्री सिंहले भने ।