इटहरी । माटो विना पानी र पोषण तत्वको प्रयोग गरिने हाईडेपोनिक तरिकाले विभिन्न जातका तरकारीको उत्पादन गर्न सफल भएपछि सुनसरीको इटहरीका किसान सन्तोष न्यौपानेले व्यवसायिक रुपमा हाईडेपोनिक तरिकारी खेतीमा जोड दिन थालेका छन ।
तीन वर्ष अघि देखि माटो विना पानी र पोषण तत्वको प्रयोगले सानो ठाउँमा पनि तरकारी उत्पादन गर्न सकिने विषय सिकेर आफैले सोही प्रविधिवाट खेती गर्न थालेपछि उत्पादन राम्रो भएपछि उनी उत्साहित वनेका हुन ।
आफुले पानी र पोषण तत्वको मात्र प्रयोग गरेर साग, लहरे तरकारी , टमाटर, जस्ता कृषि उत्पादनहरु फलाउन सफल भएपछि न्यौपानेले नेक्स्ट जेनेरेसन कृषि फार्म नेपाल नाम दिएर हाईडेपोनिक प्लान्ट बाट तरकारी खेती प्रविधिलाई व्यवसायिक रुपमा अघि वढाउन थालेका हुन ।
उनले विरुवाको जरा माफर्त पानीबाट पोषण तत्व दिएर पानीमा मात्र लगाउन लगाएका रायो साग ,चाइनीज साग, काक्रा ,टमाटर,खुसानी फलाई सकेका छन ।
दैनिक रुपमा भान्सामा प्रयोग हुने तरकारीमा प्रयोग गरिने विषादीका कारण स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै आफुले विसादीरहित तरकारी फलाउने तथा अरुलाई समेत यस प्रकारको खेती गर्न सहयोग पुरयाउने उद्धेश्यले हाईड्रोपोनिक तरिकाले खेती गर्न थालेको न्यौपाने सुनाउछन । उनले एउटै टावरबाट एकै किसिम र धेरै किसिमका तरकारीहरु उत्पादन गर्न सकिने समेत जानकारी दिए ।
इटहरी ८मा न्यौपानले सञ्चालन गरेको कृषि फार्मबाट पानीमा लगाइएको तरकारी वाली हेर्न छरछिमेकबाट मानिसहरु आउन थालेका समेत छन । कौशी खेती गर्नेहरुका लागि उपयुक्त हुने तथा सानो ठाउँमा समेत टावर राखेर यस प्रकारले खेती गर्न सकिने भएका कारण पनि सहरी क्षेत्रमा तरकारी खेतीका लागि उपयुक्त हुने विश्वास गरिएको छ ।
वातावरण अनुकुल वनाएर यस प्रविधिबाट मौसमी तथा वेमौसमी तरकारी खेती गर्न समेत सकिने वताइयो । न्यौपानेले यस प्रकारको प्रविधिवाट तरकारी खेती गर्न चाहनेहरुका लागि तालिम , आवश्यक सामाग्रीहरु समेत उपलव्ध गराउने व्यवस्था मिलाएका छन ।




















