सुनसरी । सुनवर्सी नगरपालिका वडा नम्बर २ बरालटोलकी सिता खड्का गर्भवती र सुत्केरी महिलाका समस्या र समाधानमा गर्नुपर्ने कामको बारेमा जानकार छिन् ।
यो जानकारी सिताले आमा समुहको बैठकबाट थाहा पाएकी हुन ।
‘समयमा स्वास्थ्य जाँच गर्नुपर्छ, सुत्केरी गराउन अस्पताल जानुपर्छ भन्ने थाहा भएको छ, हामीलाई स्वंयमसेविकाले आमा समुहको बैठकमा जानकारी गराउने गर्नुभएको छ,’ सिताले भनिन् ‘बैठकबाट अरु धेरै जानकारी पाएका छौँ, झाडापखाला, डेँगु, कुष्टरोग बारे पनि जानकारी पाएका छौँ । ’
विहिबार आमा समुहको बैठकमा आफुले पाएको जानकारी बारे उनले यसरी बनाइन् ।
मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर २ बरालटोल अमरदहमा सिर्जना स्वास्थ्य आमा समूह छ । टोल भरीका १७ जना आमाहरु यो समुहमा आवद्ध छन् । त्यहि मध्येकी एक हुन,सिता पनि हरेक महिना आमा समुहको बैठक बस्छ । जहाँ गाउँघरमा हुने स्वास्थ्य, सरसफाई,गर्भवती र सुत्केरीका समस्याको बारेमा छलफल गर्ने गदर्छन् ।
त्यसको सहजीकरण गर्ने काम महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका राजश्री ढुङ्गानाले गरिरहेकी हुन्छिन् ।
राजश्रीका अनुसार, गर्भवती महिलाको घर पहिचान, ४२ दिन भित्रको सुत्केरी, प्रथम पटक गर्भ जाँच गरेको नगरेको, आठ पटक गर्भ जाँच भए नभएको बारेमा समुहमा छलफल हुन्छ ।
बैठकमा हुने छलफलबाट नियमित गर्भ जाँच, आइरन चक्की खाए नखाएको, चर्पीको प्रयोग, सरसफाई लगायतको विषयमा जानकारी भएको आमा समूहकी अर्की सदस्य राधिका कार्कीले बताइन् ।
टोलमा भएका गर्भवती र सुत्केरी आमाहरुको अवस्था, नियमित स्वास्थ्य जाँच र औषधी खाए नखाएको समुहका सबै सदस्यलाई जानकारी हुने कार्कीले बताइन् । समुहका कुनै सदस्यलाई अप्ठ्यारो परे हामी सबै मिलेर सहयोग गछौँ उनले जानकारी दिइन् ।
१५ दिनकी सुत्केरी टिका थापा आमा समुहको बैठक छुट्लाकी भनेर सानो नानी बोकेरै बैठकमा सहभागी हुन आएको बताइन् ।
भर्खकी सुत्केरी टिका बैठकमा आएको देखेर साथीहरुले बस्नलाई सजिलो बनाइदिए । सानो नानी अरुले नै बोकी दिए । उनले ढुक्कले बसेर नियमति लगाउनुपर्ने खोप तालिका बारे बुझिन् ।
विहिबार नेपालमा पाइने उष्णप्रदेशीय रोगहरूको पहिचान गर्दै, त्यसको रोकथाम र निदानका लागि भएका प्रयासहरुको बारेमा स्वस्थ्य संस्था, पत्रकार र काम गर्दै आएको संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन तथा निरिक्षण गरेका थिए ।
स्थलगत अनुगनका क्रममा आमा समुहले गरेको काम निकै प्रभावकारी रहेको पाइयो ।
सहारा नेपालले यस्ता आमा समूहहरूको लागि बैठकमा सहयोग गर्दै आएको छ । फेयर मेडको सहयोगमा सहारा नेपालले विश्वास परियोजना मार्फत उनीहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।
मोरङ जिल्लाका ७७ वटा आमा समूहलाई नियमित बैठक सञ्चालनको लागि परियोजनाले काम गरिरहेको सहारा नेपाल मोरङका कार्यक्रम सुपरभाइजर सौरभ बगालेले बताए ।
आमा समूहको नियमित बैठक बस्ने, बचत गर्ने र आफ्ना स्थानीय स्वास्थ्य समस्या समाधानमा एकजुट भएर काम गर्ने हुँदा समुदायस्तरमा स्वास्थ्य सचेतना बढेको स्वास्थ्य चौकी अमरदहका इन्चार्ज सुरेश महतोले जानकारी दिए ।
हात्तीपाइले तथा कुष्ठरोग जस्ता रोगको पहिचान र त्यसको निदानमा पनि आमा समूहको कामले सहयोग पुगेको इन्चार्ज महतोको भनाई छ ।
नेपालमा पाइएका उष्णप्रदेशीय रोगहरूको बारेमा नागरिकसम्मलाई जानकारी दिई रोकथामका लागि फेयरमेड सस्थाले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पत्रकारहरूको स्थलगत अनुगमन पछि विराटनगरमा भएको अन्तरक्रियामा परियोजनाले २०२१ देखि अहिलेसम्म समुदाय स्तरमा गरेको कार्य प्रगतिको बारेमा जानकारी दिइयो ।
फेयर मेडका कोशी प्रदेश संयोजक डम्बरसिंह गुरुङले १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरू, नवजात शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा गरिरहेका कामको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सहारा नेपालको तर्फबाट संस्थाका सहसचिव लालबहादुर गिरीले सहारा नेपालले झापा र मोरङमा गरेका कामहरू प्रभावकारी देखिएको प्रतिक्रिया दिए ।