सुनसरीमा भएको वर्षापछि कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ। जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठका अनुसार, यस वर्षा कारण कृषि बालीमा १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ।
जिल्लामा विभिन्न स्थानमा लगाइएको अन्नबाली, केरा, तरकारी र उखु जस्ता नगदेबाली नष्ट भएका छन्। यसैबीच, ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये ९३५ हेक्टरमा धान नष्ट हुँदा आठ करोड ३८ लाखको क्षति भएको छ।
यही गरी, ५१० हेक्टरमा लगाइएको केरा खेतीमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा ३७ लाखको क्षति पुगेको छ। तरकारीका लागि ८,१५३ हेक्टरमा गरिएको खेतीमा ३५४ हेक्टर नष्ट हुँदा चार करोड ५२ लाखको क्षति भएको छ।
उखु खेतीमा पनि ५,८७७ हेक्टरमा गरिएको खेतीमा १२४ हेक्टर नष्ट भएपछि दुई करोड ८० लाखको क्षति भएको जानकारी प्राप्त भएको छ। यस्तै, १,३०८ हेक्टरमा गरिएको जुट खेतीमा ९७ हेक्टर नष्ट हुँदा १० लाख ४८ हजारको क्षति भएको छ।
क्षतिको विवरण संकलन गर्दैछन् र सबै पालिकामा आवश्यक पत्र पठाइसकेको श्रेष्ठले बताएका छन्। विशेष गरी देवानगञ्ज, कोशी, भोक्राह नसिङ्ग गाउँपालिका र इनरुवा नगरपालिकामा बढी क्षति पुगेको देखिएको छ।




















