इटहरी । चाडपर्वको समयमा यात्रामा कुनै किसिमको समस्या नहोस भनेर यात्रुहरुको सहजताका लागि इटहरी बस पार्कमा यात्रु सहायता कक्षको उद्घाटन गरिएको छ ।
चाडपर्वको समयमा सवारी साधनमा यात्रुहरुको चाप बढी हुने हुँदा यात्रुहरु नठगिउन तथा सहज रुपमा गन्तव्य सम्म पुग्न सकुन भनेर यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सक्रियतामा यातायात मजदुर संगठन लगातयका सरोकारवालाहरुको सहकार्यमा इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
यात्रु सहायता कक्षको उदघाटन गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले यात्रुहरुलाई सधैभरी व्यवस्थित रुपमा सहज यात्रा गर्न सक्ने वनाउनु पर्नेमा जोड दिए ।
चाडपर्वको समयमा सवारी साधनमा बढी भिडभाड हुने गरेको तर्फ मध्यनजर गर्दै यात्रुहरुको सहजता र सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न ठाउँहरुका यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउने सरोकारवालाहरुसंग समन्वय गरेर गरिदै आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक सरोज पौडेलले बताए ।
यात्रुहरुको चाप वढी हुने समयमा आधिकारी काउण्टरबाट नभई बाटाबाटै टिकट काट्ने र मनपरी भाडा असुल्ने समेत काम हुने गरेको तर्फ ध्यान दिनुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष कमल राईले जानकारी गराए ।
विशेष गरेर दशैं तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुहरुको चाप बढी हुने गरेका कारण यात्रुहरुलाई सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्ने गरिदै आएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन तिम्सिना, इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापा,ड्राईभिङ स्कुल संघ कोशी प्रदेश अध्यक्ष बाबुराम प्रधान, ड्राईभिङ स्कुल संघका सुनसरी,मोरङ अध्यक्ष शिव श्रेष्ठ,बसपार्क ब्यवस्थापन समिती अध्यक्ष काजी राई,नेपाल मजदुर संघ इटहरीका अध्यक्ष दिनेश प्रधान लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।