कोशी ब्यारेजमा पानीको बहाव ५ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि पैदलयात्रीलाई पनि रोक लगाइएको छ ।

शनिबार दिउँसो ३ बजे ५ लाख ३१ हजार क्युसेक बाढी मापन भएपछि सवारी साधन र सर्वसाधारणलाई पनि हिँड्न रोक लगाइएको हो ।

ब्यारेजमा पानीको बहाव बढ्दो रहेको सुनसरी प्रहरीले जनाएको छ । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।

भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भन्दै विभागले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा सतर्कता अपनाउन भनेको छ ।