इटहरी । विपदका समयमा खोज उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषय केन्द्रित भएर सुनसरीको इटहरीमा विपद प्रतिकार्य अभ्यास गरिएको छ ।
इटहरी उपमहानगरपालिका र नेपाली सेनाको भगवतीदल गणको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको तालतलैयामा सामुहिक विपद प्रतिकार्य अभ्यास गरिएको हो ।
विपद प्रतिकार्य अभ्यासमा बाढी तथा आगलागी जस्ता विपदको समयमा कसरी खोज ,उद्धार गर्ने देखि लिएर अस्थायी बसोबास सम्मका विषयवस्तुहरु समावेश गरेर नेपाली सेनाले कृतिय अभ्यास प्रर्दशन गरेको थियो । विपद प्रतिकार्य अभ्यास कार्यक्रमका अध्यक्ष इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले विपद व्यवस्थापनका लागि नेपाली सेनाले तालिम दिने कार्य प्रशंषा योग्य रहेको वताए ।
उनले विपद व्यवस्थापनका लागि सुरक्षा निकायहरुसंग सहकार्य गरेर विपद न्युनिकरण युनिट बनाउनु पर्नेमा जोड दिए ।
नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटरका निमित्त पृतनापति सहायक रथी दिल बिक्रम सुव्वाको प्रमुख आतिथ्यमा भएको विपद प्रतिकार्य अभ्यास कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी , नेपाली सेनाको पूर्वी पृतना सहायक चिफ अफ स्टाफ प्रमुख सेनानी सुबेस कायस्थ, प्रमुख सेनानी सोनीक गुरुङ , भगवतीदल गणका गणपति प्रमुख सेनानी राजन भुजू ,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक विपिन रेग्मी ,शसस्त्र प्रहरी बल नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षाक समेन्द्र बर्जचार्य ,राष्ट्रिय अनुसन्धान बिभाग सुनसरीका उप–अनुसन्धान निर्देशक तुलसी कट्टेल , तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।




















