इटहरी । इटहरीमा रहेको सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलो पल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालयमा प्रविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र समेत संचालन गर्दै आएको विद्यालयले आर्थिक वर्ष २०८१।८२ को लागि विद्यालयले तय गरेका कार्यक्रम पुरा गर्न सात करोड बजेट आवश्यक पर्ने नीति तथा कार्यक्रमको पुस्तिका इटहरी उपमहानगर पालिककाका नगर प्रमुख हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन् ।
इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइ रहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरु विद्यालयले सिको गर्ने नगर प्रमुख पौडेलले बताए ।
विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास तर्फ विद्यार्थीको चापलाई मध्यनजर गरेर छ कोठे पक्की भवन निर्माण, विद्यालयको खेलमैदान स्तरोन्नति, सिसि क्यामेरा जडान, विद्यार्थीको निम्ति थप दुईवटा वस थप गर्ने, दुईवटा सौचालय थप निमार्ण गरिने, शुद्द पिउने पानी फिल्टर सहितको व्यवस्था गर्ने र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको वाल उद्यान निर्माण, पार्किङ्को उचित व्यवस्था, विद्यार्थीको उमेर समूह अनुसार फर्निचरको व्यवस्था, अलगै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र आपगाछी चोकको बाटोमा साना स्कुलाका विद्यार्थीहरुलाई मध्यनजर गरेर आउँजाउँ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।
यसैगरी, मानव संसाधन विकासतर्फ तल्लो तहका कक्षामा अध्यापन गर्ने शिक्षकको क्षमता विकास, सवै तहका शिक्षक तथा कर्मचारीलाई विधागत तालिम, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थालगायतका कार्यक्रम गरिने भएको छ ।
यस्तै, शैक्षिक क्रियाकलाप तर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरि कार्यान्वयन गरिने मुख्य कार्यक्रममा समेटिएको छ ।
वार्षिक नीति तथा कार्यक्रममा विद्यार्थीका अतिरिक्त क्रियाकलाप बढाउने, ग्रीन क्लबको नेतृत्वमा एक विद्यार्थी एक विरुवा कार्यक्रम, त्रैमासिक भित्ते पत्रिका प्रकासन, अभिभावक अभिमुखीकरण कार्यक्रम, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ग्रासरुट फुटवल प्रशिक्षण, सिकाई क्षमता कमजोर भएका विद्यार्थीलाई पकेट कक्षा सञ्चालन, योग शिक्षा कार्यक्रम सुरु गर्ने र विद्यार्थीसँग मेयर कार्यक्रम वर्षमा दुईपटक गर्ने गरिने व्यस्थापन समिति अध्यक्ष कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अनुसार कपी उत्पादन गरि विक्री गरिने, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण सम्बन्धी सचेतना, विद्यार्थीको प्रतिभा पहिचान गरि प्रतिभालाई संरक्षण गरिने, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता लागू गर्ने लगायत कार्यक्रमहरु समेटिएका छन् ।
यस्तै, विद्यालय वडापत्रको व्यवस्था, लेखा प्रणाली थप व्यवस्थित, आय(व्यय हरेक तीन महिनाको अन्तरमा सूचना पार्टी तथा वेभसाइटमार्फत सार्वजनिक गरिने, अक्षयकोषको रकम वृद्दि गरि थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेलगायतका कार्यक्रम समेटिएका छन् । अघिल्लो मंसिरमा विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरेको थियो । अब मंसिरमा थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आर्थिक वर्ष २०८१।०८२ का लागि अनुमानित आय ११ करोड ७७ लाख ९९ हजार ७४२ रुपैयाँ र व्यय ११ करोड ८३ लाख ६१ हजार ६०३ रुपैयाँ प्रस्तुत गरेका थिए ।
सो क्रममा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख दोर्ण दाहालले इटहरी क्षेत्रका १९ वटा माध्यमिक विद्यालयमध्ये राष्ट्रिय माध्यमिक विद्यालय उत्कृष्ट भएको जनाए ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वडाले यस आर्थिक वर्षमा राष्ट्रिय माध्यमिक विद्यालयलाई सुधार गर्ने प्राथमिकता दिने पनि इटहरी १ का वडा अध्यक्ष रतन कार्कीले बताए ।
विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेकोमा कुल एक हजार ८८१ जना विद्यार्थी अध्ययनरत छन् ।
सार्वजनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष, शिक्षक ,शिक्षिका लगायतको सहभागिता रहेको थियो ।




















