लेटाङ । लेटाङ नगरपालिकाले वृहत कार्यक्रम गरि आर्थिक वर्ष ०८१÷०८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि लेटाङ नगरपालिकाले गत असार १० गते सम्पन्न १५ औँ नगरसभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पुस्तिका अनावरण गर्दै लेटाङ नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लेटाङ नगरपालिकाले सबै क्षेत्रलाई समेटेर बजेट ल्याएको भन्दै लेटाङको कृषि क्षेत्र र पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले लेटाङ नगरपालिका मह उत्पादनमा प्रख्यात रहेको भन्दै कफि खेति समेत सुरु गरेकोमा प्रदेश सरकारले अवाश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री कार्कीले लेटाङ नगरपालिका कृषि र पर्यटनको प्रचूर संभावना बोकको ठाउँ रहेको भन्दै विशेष समय मिलाएर लेटाङको कृषि उत्पादन र पर्यटन क्षेत्रबारे अवलोकनका लागि आउने पनि बताए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २०८२ साललाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेको जानकारी पनी जानकारी दिए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहेका लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङ नगरपालिकाले गत आर्थिकवर्षमा गरेका कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटका विशेषता बारे जानकारी गराएका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्षको बजेटको मुख्य अंश बाचन गर्नुभयो । आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ६० करोड ८५ लाख ३७ हजारको बजेट ल्याएको उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका नगर प्रमुख डीपी राई, पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्वापो, लेटाङका पूर्वनगर प्रमुख शंकर राई, विभिन्न दलका प्रतिनिधिहरु, सामाजिक संघसँस्थाका प्रतिनिधिहरु लगायतको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाले विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सेवानिवृत्त शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, नगरमा रहेका डाक्टर, खेलाडी, सामुदायीक वन लगायतलाई पनि सम्मान गरिएको छ ।
साथै कार्यक्रममा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले स्टल राखेर स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको थियो ।
लेटाङमा उत्पादित मह, कफि, सुपारीको टपरी, जुत्ताचप्पल, खाद्यान्न, ढाकाका कपडा, केराबाट धागो बनाउने प्रविधि, बाँसका कलात्मक समाग्री आदिको स्टल राखिएको थियो ।
स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले एक दर्जन बढी स्टल हरु राखिएको थियो ।