काठमाडौं । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ( डीडीसी ) अगाडि आन्दोलन गरेका हुन ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । ‘तत्काल दूधको बक्यौता भुक्तानी गर्न आन्दोलन गरेका थियौं, प्रहरीले धरपकड गरेर कालिमाटीमा लग्यो । अहिले भर्खरै छोडेको छ तर हाम्रो आन्दोलन निरन्तर नै छ’, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले भने ।कुँवरका अनुसार वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार दूध किसानको रकम नआउँदा समस्या रहेको भन्दै आन्दोलन गर्नुपरेको हो ।

वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेको उनले सुनाए । ‘रेगुलर पैसा आइरहेको देखिए पनि बक्यौता घट्न सकेको छैन, अहिले उत्पादन भइरहेको दूधको रकम आएनि बाँकी बक्यौता तत्काल दिनुपर्छ’, कुँवरले भने । किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।