इटहरी । प्राचीन कालदेखि बसोबास गर्दै आएका थारुलाई पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले उनीहरूको आस्थाको धरोहर ग्रामथानको संरक्षण र पुनर्निर्माण सुरु गरेको छ । 

चालु आर्थिक वर्षमा ग्रामथानहरूको अवस्था पत्ता लगाइ तिनीहरूको अवस्था अनुसार गर्नुपर्ने पुनर्निर्माणका काम भइरहेको उपमहानगरले जनाएको छ ।

सो अनुसार विभिन्न वडा वडामा बजेट विनियोजन भई पुनर्निर्माणको काम हुँदै छ भने नगर स्तरीय बजेट बाट पनि पुनर्निर्माणका लागि काम हुँदै छन् । 

इटहरीको वडा नं. ८ मा रहेका ५ वटा ग्रामथानमध्ये अघिल्लो आर्थिक वर्षमा ४ वटाको पुनर्निर्माण सम्पन्न भएको वडा अध्यक्ष रोहित चौधरीले जानकारी दिए । उनकाअनुसार चालु वर्षमा एक ग्रामथानको पुनर्निर्माणको काम चलिरहेको छ । 

यस्तै वडा नं. १८ मा रहेका ८ वटा ग्रामथानको घेरा बेरा लगाउने र आरसिसी ढलान गरी नयाँ निर्माणको काम सकिएको वडा अध्यक्ष राम कुमार चौधरीले जानकारी दिए । 

अघिल्लो आ.ब. मै सबै थानहरूलाई नयाँ निर्माण गरी ढलान गरेको उनले जानकारी दिए ।

वडा नं. १६ मा रहेका ग्रामथानहरूको पनि पुनर्निर्माणको काम भएको वडा अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए । ग्रामथानको संरक्षण गर्ने काम उपमहानगर र वडा कार्यालयहरूले संयुक्त रूपमा भइरहेको उनले बताए ।  

यता, इटहरीको मुख्य चोकमा रहेको विच्छुधामी ग्रामथानको पनि पुनर्निर्माण सकिएको छ । इटहरी वडा नं. ६ धरान रोडमा रहेको सो ग्रामथान निर्माण गर्न वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो । 

सो बजेटमा दाताहरूसँगको सहयोगका आधारमा ग्रामथानलाई पुरानै शैलीमा निर्माण गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिइन् । सो ग्रामथान निर्माणमा करिब ६ लाख बढी खर्च भएको उनको भनाई छ । 

नगर स्तरीय बजेट बाट नै इटहरी वडा नं. ४ चौधरी टोलमा रहेको पोखरीलाई इँटाको वालले घेरा बेरा गर्ने काम भएको छ ।  

अहिले अन्य वडाहरूमा पनि जीर्ण बनेका थान तथा ग्रामथानहरूको पहिचान गरी पुनर्निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 


कति छन् ग्रामथान कस्तो छ अवस्था ? 

इटहरीमा कति ग्रामथान छन्, यसको यकिन तथ्याङ्क छैन । धेरै पुराना थानहरू त लोप भएर गइसके । अतिक्रमणका कारण धेरै ग्रामथानहरू हराएका छन् । कति जीर्ण भएर लोप हुने अवस्थामा पुगेका छन् ।

इटहरीका अधिकांश ग्रामथान जीर्ण अवस्थामा रहेको थारु कल्याणकारी सभा इटहरीका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 

पहिले १, २ बिगाहामा रहेका थानहरू अहिले २, ३ धुरमा सीमित हुन पुगेको सभाका अध्यक्ष चौधरीको भनाई छ ।  

इटहरी ५ आनन्द मिल छेउमा रहेको ग्रामथान अहिले अढाई धुरमा सीमित भएको उनले बताए । केही समय अघि त्यस थान वरिपरि करिब ४ कट्ठा जग्गा रहेको उनको भनाई छ । 

यस्ता थुप्रै उदाहरण आफूले ग्रामथानको अनुगमनका क्रममा भेटेको अध्यक्ष चौधरीले जानकारी दिए । थारु कल्याणकारी सभा नगर समितिले पनि ग्रामथानको तथ्याङ्क सङ्कलनको काम गरिरहेको उनले बताए । 

ग्रामथान जीर्ण भएर हराउने, जग्गा जमिन भू माफियाले कब्जा गर्दा लोप भएका छन्  । संरक्षणका लागि तीव्र दबाब आएपछि इटहरी उपमहानगरले ग्रामथानको सूचीकरण गर्न थालेको छ । gramthan  (3)

कुन वडामा रहेका ग्रामथान कुन अवस्था छन्, जग्गा जमिन कति छ ,मेला पर्व, पुजारीको अवस्था सहित सबै विवरण उल्लेख गरी सम्बन्धित वडा कार्यालय तथा नगरपाकिालमा सूचीकरण गर्न थालिएको प्रमुख प्रशाकिय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

उपमहानगरको परिपत्र पछि हाल सम्म २९ वटा ग्रामथान सूचीकरण भएका छन् । अझै धेरै ग्रामथानहरू सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणको काम जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए । ग्रामथानहरू पूर्ण रूपमा संरक्षण नहुन्जेल सम्म सूचीकरण र पुनर्निर्माणका कामहरूले प्रत्येक वर्ष निरन्तरता पाउने मेहताको भनाई छ । 


के हो ग्रामथान ? 

संस्कृति अनुसार मानिसको जीवनपद्धति चल्छ । संस्कृति प्रकृति प्रदत्त चिज होइन । यो मानव निर्मित हो । तर प्रकृतिसँगै हुन्छ । थारु समुदायको आफ्नै संस्कार, संस्कृति छ ।

थारु समुदायले आफ्ना कुल, पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई ग्रामथान भन्दछन् । हेर्दा सामान्य लाग्ने बाँसको टाटीले बारेको, टिनको छानो भएको, स साना घरहरू हुन । त्यहाँ भित्र माटोको ढिस्को हुन्छ । तिनीहरूको पूजा प्राकृतिक रूपमा गरिन्छ । त्यसैले थारुहरू प्रकृति पूजक हुन् । 

जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न । ग्रामथानमा देवताको बास हुने भएकाले थारुहरूले सामूहिक पूजा गर्छन् । 

ग्रामथान जन्म, विवाह, पूजा पाठ र मृत्युको संस्कारसँग पनि जोडिने थारु नेता तथा १६ नं. वडाका अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

हाम्रो आस्था विश्वास सबै ग्रामथानमै रहको उनले बताए । ग्रामथानमा नै प्रत्येक वर्ष वैशाख महिनामा पूजा गर्ने र मेला लाग्ने अध्यक्ष चौधरीले जानकारी दिए । यसरी पूजा गर्दा फूल घडा, पानसुपाडी चढाउने गर्दछन् । प्राय सबै ग्रामथानमा ठुलो मेला( धाम) लाग्छ । यस्ता मेलामा जुलवीको विशेष महत्त्व रहने गर्दछ । वैशाख महिना भर थानहरूमा मेला लाग्ने गर्दछ ।  

ग्रामथान प्राय गाउँको बिचमा, खेतको बिचमा हुन्छन् । जहाँ पोखरी, ठुला ठुला रुख बिरुवा हुन्छन् । यिनीहरूको आ–आफ्नै महत्व रहेको छ । 

लामो समय सम्म संरक्षण नहुँदा यस्ता थानहरू पुराना र जीर्ण भएका छन् । उनीहरूको नाममा रहेका जग्गामा विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन बनाइएको छ । 

अर्कोतर्फ ग्रामथानको जग्गा भू–माफियाले आफ्नो नाममा नामसारी गरी विक्री वितरण गर्ने गरेका छन् । जसले गर्दा ग्रामथान लोप हुने अवस्थामा पुगेका छन् । 


नयाँ योजना ल्याउँदै उपमहानगर 

चालु आर्थिक वर्षमा थारु समुदायको उत्थान तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपमेयर सङ्गीता कुमारी चौधरीले जानकारी दिइन् । 

उपमहानगरमा थारु जातिको उत्थानका लागि एक छुट्टै समिति गठन गरिएको छ । सो समितिको संयोजक उपमेयर आफै छिन् । यही समिति मार्फत कार्यक्रम सञ्चालनको तयारी भइरहेको उपमेयर चौधरीले जानकारी दिइन् । 

थारु जातिको उत्थानका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ । सोही बजेट बाट कार्यक्रम सञ्चालन हुनेछ । 

यस वर्ष मुख्य ५ कामलाई प्राथमिकतामा राखी काम थालिएको उपमेयर चौधरीले जानकारी दिइन् ।

पहिलो ग्रामथानहरूको संरक्षण तथा पुनर्निर्माण, दोस्रो थारुको जनगणना, तेस्रो थारु विद्यार्थीका लागि लोक सेवा कक्षा सञ्चालन, चौथो थारु होमस्टे सञ्चालन र पाँचौँ अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम रहेका छन् । 

विनियोजित ५० लाख बजेट मध्येबाट २० लाख रकम ग्रामथानको संरक्षणका लागि खर्च गरिनेछ भने बाँकी अन्य शीर्षकमा खर्च गरिने उपमेयर चौधरीको भनाई छ । 

यी उल्लेखित कामहरू थारु कल्याणकारी सभासँगको साझेदारीमा सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिइन् । 

इटहरीमा थारु कति छन् यकिन तथ्याङ्क पत्ता लगाउन आन्तरिक जनगणना गर्ने समितिको योजना छ । 

राष्ट्रिय जनगणनाले निकालेको इटहरीको थारुको सङ्ख्यामा चित्त नबुझेकाले आफैले थारुको जनसङ्ख्या पत्ता लगाउन जनगणना गर्ने तयारी गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 

इटहरीका वडा नं. १०, ११, १२ र १७ मा थारु होमस्टे सञ्चालन गरिने उपमेयर सङ्गीता कुमारी चौधरीले बताइन् । होमस्टे सञ्चालनका लागि सो वडाबाट प्रस्ताव आएको उनको भनाई छ । 

थारुको जातीय संस्कार, संस्कृति,रहनसहन, परम्परा, खानाका परिकार, गीत सङ्गीत लगायत सबै विषयलाई समेटेर होमस्टे सञ्चालन गरिने छ ।

यस्तै, थारु विद्यार्थीहरूलाई सरकारी सेवामा प्रोत्साहन गर्न लोक सेवा तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ । 

थारु महिलाहरूको सिप र कलालाई आर्थिक उपार्जनमा रूपान्तरण गर्न सिपमूलक तालिम तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उपमेयरको योजना छ । 

तर यी सबै कार्यक्रम सञ्चालनका लागि बजेट अपुग हुने उपमेयरले बताइन् । आगामी आर्थिक वर्ष यो शीर्षकमा बजेट थप गर्नुपर्ने उनको माग छ ।