मोरङ । मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो गाईको प्रतिमा श्रीमदभागवत ज्ञान महायज्ञको अवसरमा अनावरण भएको छ ।
बुढी खोला किनार मोरङको सुन्दर हरैंचाको नयाँ वृन्दावन गौशालामा १ करोड ५० लाख रुपियाँ लागतमा गाईको प्रतिमा कार्यक्रमका प्रमुख अतिथी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनावरण गरेका थिए ।
यो प्रतिमा– फाइबरको कच्चा सामाग्री प्रयोग गरेर बनाइएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको छ ।
नयाँ वृन्दावन गौशाला बनिसकेपछि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईको प्रतिमाका कारण सुन्दरहरैंचा क्षेत्रको पर्यटकीय र धार्मिक क्षेत्रकोरुपमा विकास भएको सुन्दरहरैचा नगरपालीकाका नगर प्रमुख केदार प्रसाद गुरागाईले बताएका छन ।
बुढी खोला किनार पश्चिममा सुनसरीको इटहरी उपमहानगर पालिका सँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यस अघिनै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण सम्पन्न भइसकेको छ ।
नयाँ वृन्दावनको २०६५ सालमा स्वामी दीनबन्धु शास्त्रीले श्रीराधेश्याम सेवा ट्रष्टको गठनगरी धार्मिक एवं पुरातात्विक महत्वको खोजी सुरु गरेका थिए ।
नयाँ वृन्दावन गौशाला भनेको नेपाली धार्मिक पर्यटकलाई नेपालमै रोक्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित निर्माण भएको शास्त्रीको भनाइ छ । शास्त्रीका अनुसार नयाँ वृन्दावनको मुख्य आकर्षणका रुपमा सबै गोत्रका प्रवर्धक ऋषिहरूको धातुको प्रतिमा निर्माण भइरहेको छ । वृन्दावनमा वैदिक गुरुकुलसमेत पढाइ हुनेगरेको छ । नयाँ वृन्दावनमा दैनिक आन्तरीक तथा बाह्य धार्मिक पर्यटकहरू आउने गरेका छन् ।
बूढीगङ्गा तटमा रहेको नयाँ वृन्दावन गौशालाले भारतको वृन्दावनको झल्को दिने मात्र होइन, महाभारतकालीन ठाउँसँग जोडिएको यस क्षेत्रमा धार्मिक रुपमा विषेश रहेको छ । नयाँ वृन्दावनमा विगत वर्ष झै यस वर्ष पनि होली मिलन महोत्सव आयोजना गरि नयाँ वृन्दावनमा फुलको होली खेलेर मनाइएको हो ।
कार्यक्रममा होली मिलन महोत्सवमा होली पर्वका विषयमा प्रवचन तथा होलीसंग जोडिएका धार्मिक भजनहरु गाइएको थियो ।
वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फुलको होली खेलेको किंम्बदन्ति रहेको छ ।पुर्व क्षेत्रको एक प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुदै आएको नयाँ वृन्दावनमा विगत केही वर्ष यता देखि भक्तजनहरु समेतको सहभागितामा होली मिलन कार्यक्रम गरिदै आएको छ ।




















